Saturday, June 24, 2017  |    

आन्तरीक र बाह्य उडानका लागि १८ जहाज थप्ने पर्यटनमन्त्री शाहीको घोषणा

प्रकाशित मिति: 2016/09/01

भदौ १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने योजना रहेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले भने, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु ।

विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चनमा अल्झाउने प्रवृत्ति देखीएको भन्दै मन्त्री शाहीले अव त्यस्तो नहुनेमा आफु आशाबादी रहेको बताए ।  
उनले ७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको समेत जनाए । उनले भने, ‘कुन प्रदेशमा कस्ता विमानस्थल बनाउनुपर्छ, पर्यटन विकासको लागि कस्तो पूर्वाधार चाहिन्छ, सम्भावनाहरु के के छन भनेर मैले रिपोर्ट मागेको छु ।’
मन्त्री शाहीले पोखरा, निजगढ, भैरहवा लगायतका विमानस्थल निर्माण गर्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भन्दै कुन ठाउँमा के कति काम भइरहेको छ भनेर मुल्यांकन गर्नको लागि दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न निर्देशन दिएको जनाए ।
त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

 

तपाईंको बिचार