Monday, December 11, 2017

ट्याक्सीचालकका कारण हैरानीमा पर्छन् विदेशी पर्यटक अन्तर्राष्ट्रिय विमानस्थलमा

प्रकाशित मिति: 2016/09/01

अन्तर्राष्ट्रिय विमानहरुको आवातजावत हुने नेपालको पहिलो तथा एउटै मात्रै विमानस्थल रहेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । यही विमानस्थल भएर वर्षेनी लाखौं विदेशी नागरिक नेपाल आउँछन्, अनि हाम्रा लाखौं युवा खाडी राष्ट्रमा काम गर्न पुग्छन् । घुमघामका लागि विदेश जाने हुन् वा अन्य कामविशेषले विदेश पुग्नेहरु नै किन नहुन्, जे जस्तो कामले विदेशिएका स्वदेशीदेखि नेपाल हेर्न र घुम्नका लागि आएका पर्यटकले विमानस्थल ओर्लिएलगत्तै विभिन्नखाले सास्ती र हैरानी भोग्नुपर्ने हुन्छ । विदेशी तथा स्वदेशी पर्यटक पहिलो पटक विमानस्थलको आवागमन कक्षबाट बाहिर निस्केदेखि नै शुरु हुन्छ उनीहरुको ‘मानव सिर्जित दशा’ । विमानस्थलबाट बाहिरिएर लगत्तै सुरु हुन्छ ट्याक्सी चालकहरुको लुछाचुँडी । विमानबाट ओर्लिएर लगेज लिएर यात्रुहरु के बाहिरिन पाएका हुन्छन् अनि उनीहरु पर्छन् ट्याक्सी चालकहरुको तातानानमा । त्यसो त त्यो क्षेत्रमा प्रहरी पनि बाक्लै हुन्छ । तैपनि ती चालकहरुको हारलुछ गरिरहँदा प्रहरी मूकदर्शक बनेको देखिन्छ ।

नेपाल र नेपालीको आत्मीय अतिथि सत्कारबाट स्वागत पाउनुपर्ने विदेशी पर्यटकले त पहिलो गाँसमै ढुंगा भने झैं विमानस्थलमा ओर्लिएपछि तानातान र लुछाचुँडीको सामना गर्नुपर्ने हुन्छ । विदेशीलाई देखाउनकै लागि भए पनि एउटा आत्मीय अतिथि सत्कारको व्यवस्था गरिनुपर्ने हो, तर विमानस्थलको आगागमन कक्ष बाहिर देखिने अनावश्यक झुण्डले विमानस्थलको वातावरणलाई नै प्रदूषित गरिदिएको छ ।  

विमानबाट ओर्लिएपछि टर्मिनलभित्र छिर्नेबित्तिकै प्रिपेट ट्याक्सी काउन्टर पनि रहेको छ । विमानस्थलको टर्मिनल भवनभित्रै २ वटा प्रिपेड ट्याक्सी काउन्टर राखिएको भएपनि विमानस्थलको बाटो हुँदै बाहिरिने पर्यटकले ट्याक्सीचालकको लुछाचुँडीको सामाना गर्नैपर्छ । विदेशी पर्यटकहरु नाक खुम्च्याएर ‘नो नो’ भन्दै अघि बढ्न बाध्य हुन्छन् । पर्यटकको साथमा रहेको लगेज तथा अन्य सामानहरु उनीहरुको इच्छा विपरीत लिएर आफ्नो ट्याक्सी तथा गाडीमा लैजान खोज्नेहरुको भीड पनि बाक्लै देखिन्छ । गन्तव्य नेपाल टिमले विगत केही समयदेखि निरन्तररुपमा विमानस्थलको अनुगमन गर्दा यस्ता घटना देखियो । त्यसो त विमानस्थलको आवागमन कक्षबाट बाहिरिने बित्तिकै ५ वटा हरियो नम्बर प्लेट्को ट्याक्सी तयारी अवस्थामा राख्ने गरी व्यवस्था समेत मिलाइएको छ । विमानस्थलको पार्किङ्ग क्षेत्रमा हरियो नम्बर प्लेटको ट्याक्सीको अर्को काउन्टर पनि छ, त्यसैको अगाडि हरियो नम्बर प्लेटकै १५ वटा ट्याक्सी तयारी अवस्थामा राखिएको छ । तर भाडाको कालो नम्बर प्लेटको ट्याक्सीदेखि रातो प्राइभेट नम्बर प्लेटको कार भाडामा लगाउनेहरुको तातानानभित्र हराउने गरेका छन् पर्यटकहरु । जबर्जस्ती रुपमा ट्याक्सीमा बस्न बाध्य बनाउने, महँगो भाडा असुल्न उद्दत हुनेहरुको गतिविधिका कारण स्वदेशी र विदेशी पर्यटकले हैरानी र सास्ती बेहोर्नु परेको छ । यसले विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई माटोमा मिलाउने कामसमेत भइरहेको देखिन्छ । अझ साउदी, कतार, मलेसिया, कुवेतलगायतका खाडी राष्ट्रबाट आउने कामदारहरुले त यी ट्याक्सी चालकहरुबाट सास्ती नै अझै बढी व्यहोर्नु परेको छ । खाडी राष्ट्र«बाट काम गरेर रातिको समयमा काठमाडौंको विमानस्थल ओर्लने कामदारहरुले विमानस्थल क्षेत्रमा उभिने दर्जनौ चालकको सामना गर्नुपर्ने हुन्छ । विमानबाट ओर्लिएर विमानस्थलको धावनमार्ग हुँदै टर्मिनलबाट अघि बढेर जाँचपास सबै सकिएपछि लगेज लिएर बाहिर निस्कने बित्तिकै ‘मेरो ट्याक्सीमा जाउँ, मेरो होटलमा जाउँ’भन्नेहरुको भीडभित्र हराउँछन् यी कामदार । रातिको समयमा विमानस्थलको ट्याक्सी एरियामा पुग्ने जो कोहीले सहजै देख्न सक्छ यो दृश्य । यस्ता चालकहरुको बाक्लै भीड लाग्ने गरेको छ रातिको समयमा विमानस्थलमा ।

यसैगरी ‘स्तरीय होटलमा लोकल खसी तथा कुखुराको मासु अनि अर्गानिक खाना पाइनेदेखि भर्जिन केटीसम्म मिलाइदिन्छु’ भन्नसमेत भ्याउँछन् उनीहरु । पहिलोपटक विदेश गएर आएकाहरु कतिपटक यस्ता ट्याक्सीचालकहरुको साथमा लागेर हिँड्दा सम्पत्ति सबै लुटाएर घरको न घाटको बनेका उदाहरणहरु पनि प्रशस्तै छ । विशेषगरी भाडामा चल्ने कालो नम्बरप्लेटका ट्याक्सीहरुको हकमा भने यस्ता घटना पटक–पटक दोहोरिने गरेका छन् । जबर्जस्ती ट्याक्सी चढाउन सफल भएपछि चालकहरुले होटलसम्म सेटिङ्ग मिलाएका हुन्छन् । कतिपय बाटैमा चालकहरुबाट लुटिन्छन् । होटलमा केटीको समेत व्यवस्था गरिदिने र भोलिपल्ट बिल तिर्ने बेलामा महँगो शुल्क तिर्न बाध्य हुनेहरुको दुर्दशा विमानस्थलबाटै सुरु भएको हुन्छ । विमानस्थलको मुख्य मार्गमै पुगेर ‘भर्जिन गर्ल’ मिलाइनेहरुको आश्वासनबाट कतिपय स्वदेशी पर्यटक तथा विदेशी कामदारहरुले एकरातमा हजारौं रकम स्वाहा बनाएर घर गाउँ पुग्न ऋण सापटीसमेत गर्ने गरेको विगतको घटनाहरुले देखाएको छ । विदेशी तथा स्वदेशी उच्चपदस्थ अधिकारीदेखि सामान्य नागरिकसम्मको पहुँच हुने विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हरेक चिज व्यवस्थित रुपमा चल्नुपर्ने हो । तर नेपालको विमानस्थलमा सुव्यवस्था खोज्नु ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै बनिदिएको छ । चाहने हो भने गर्न नसकिने केही छैन । एउटा निश्चित मापदण्ड बनाएर विमानस्थलभित्र चल्ने ट्याक्सी तथा अन्य गाडीहरु नियमसंगत रुपमा सञ्चालन गर्न कसले छेकेको छ सरकारलाई ? जबसम्म विदेशबाट आउने पर्यटक तथा कामदारले आफ्नो इच्छाले ट्याक्सी लिन पाउने वातावरण सिर्जना हुँदैन र विमानस्थलबाटै दुर्दशा भोग्नुपर्ने पर्यटकको नियती पटक–पटक दोहोरिइरहन्छ, तबसम्म नेपाल र नेपाली तथा काठमाडौं विमानस्थलको प्रतिष्ठा गिरिरहन्छ, विदेशी तथा स्वदेशी पर्यटकमाझ ।  

काठमाडौंबाट पोखरा, विराटनगरलगायतका विमानस्थलसम्म गन्तव्य नेपाल टिमले अनुगमन गर्दा यही परिदृश्य देखियो । तर काठमाडौं विमानस्थलको तुलनामा अन्य विमानस्थलमा यस्ता घटना कम भेटियो । विदेशी पर्यटक नेपाल आएनन् भनेर कोकोहोलो मच्चाइरहँदा विदेशी पर्यटकले नेपालमा पाइला टेकेपछि भोग्नुपर्ने यो खालेको ‘कोलाहालपूर्ण’ तथा उदेकलाग्दो नियतीको अन्त्य गर्न नयाँ सरकारका पर्यटन तथा यायतात व्यवस्थामन्त्रीको ध्यान जानु जरुरी छ । अन्यथा हेर्दा सामान्य लाग्ने यस्ता विषयले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेशीलाई विमानस्थलमा गरिनुपर्ने आत्मीय अतिथि स्वागत तथा सत्कारमा गम्भीर धक्का लाग्न सक्छ । यसका साथै देशको राजधानी काठमाडौंको छवि सिँगो देश र जनतासामु सँधै गिर्ने निश्चित छ ।

तपाईंको बिचार