Thursday, March 23, 2017  |    

ठमेल देशको ऐना भएकोले यसतर्फ विशेष ध्यान दिन सरोकारवालालाई नवनियुक्त मन्त्रीहरुको आग्रह

प्रकाशित मिति: 2016/09/03

भद्रौ, १८, काठमाडौं । नेपाल सरकारका नवनियुक्त तीनजना मन्त्रीले देशको पर्यटकीय नगरी ठमेलसँग मुलुक र मुलुकबासीको प्रतिष्ठा र भविष्य जोडिएको भन्दै सोही अनुसार काम अघि बढाउन पर्यटन व्यवसायी तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । नेपाल आउने अधिकांश पर्यटकले पहिलो पटक ठमेलमै पाइला राख्ने भन्दै ठमेलले नेपालको पहिचान, इज्यत र प्रतिष्ठा बोकेकोले यसप्रति गम्भीर हुन उहाँहरुले विशेषत ठमेलमा व्यवसाय सञ्चालन गर्ने पर्यटन व्यवसायीलाई आगह्र गरेका हुन् । 

ठमेलमा पर्यटकलाई गरिने व्यवहारले सिँगो देशका जनताको व्यवहार झल्कने भन्दै उहाँहरुले यसतर्फ गम्भीर हुन व्यवसायीलाई आग्रह गर्नुभयो । काठमाडौंमा शुक्रबार ठमेल पर्यटन विकास परिषद्ले नवनियुक्त मन्त्रीहरुको सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान एवं ठमेलको समसामयिक समस्या र त्यसमा सरोकारवालाहरुको भनाई विषयक कार्यक्रममा सहभागी सरकारका तीन जना मन्त्रीहरुले यस्तो धारणा राखेका हुन् । 

कार्यक्रममा नवनियुक्त शहरी विकास मन्त्री एवं विगतमा १५ वर्ष ठमेलमा बसेका नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विदेशी पर्यटक आर्जन गर्ने महत्वपूर्ण गन्तव्यको रुपमा ठमेलले छुट्टै पहिचान बोकेको भन्दै यसलाई विशेष महत्व दिएर यसको सफल सञ्चालनमा जोड दिनुपर्दछ भन्नुभयो । उहाँले देशको समग्र पर्यटन विकासलाई ध्यान दिँदै देशको पर्यटकीय शहर अर्थात् पर्यटनको मुटुको रुपमा रहेको ठमेललाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषतः ठमेल क्षेत्रभित्रका विकास निर्माण तथा अन्य कामहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सके यसले नेपालको मौलिकता तथा पहिचानको समेत प्रतिनिधित्व गर्ने उहाँको भनाई छ । हरेक पर्यटक देशका अबैतानिक दूत भएको भन्दै उहाँले उनीहरुलाई सकेसम्म स्वागत, सत्कार तथा सम्मान व्यक्तगर्दै नेपाल नेपालीको बारेमा विश्वसामू सकारात्मक सन्देश दिने ढंगबाट काम अघि बढ्नुपर्दछ भन्नुभयो । 

ठमेल क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी त्यसलाई बुँदागत रुपमा समाधानका लागि आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाई छ । विकासका नाममा ठूला घर बनाउने तर आधारभूत विषयहरु जस्तै, ढल, बत्ती, बाटोलगायतका विषयमा निश्चित योजना बताउन नसक्नु दुःखद भएको भन्दै अबका दिनमा यसतर्फ विशेष ध्यान दिएर अघिबढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । विकासले विनास निम्त्याउन नहुने उहाँको भनाई छ । 

उद्योग मन्त्री नविन्द्रराज जोशीले ठमेलले विश्वमै नेपालको विषयमा विशिष्ठता र पहिचान बोकेको भन्दै ठमेलमा गरिने व्यवहारले नै सिँगो नेपाल र नेपालीले गर्ने व्यवहारको प्रतिनिधित्व गर्ने बताउनुभयो । त्यसका लागि गम्भीर भएर विशेषत ठमेल क्षेत्रका व्यवसायीले सोही अनुसारको व्यवहार गनुपर्नेमा जोड दिनुभयो । देशका अर्थतन्त्रको मेरुदण्ड, देशको इज्यत र प्रतिष्ठा बोकेको शहर भएकोले यसलाई देशको मुहार देखाउने ऐनाको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रको संम्बृद्धि र पर्यटन विकासको प्रमुख आधार ठमेल हो भन्ने कुरालाई आत्मसाथ गर्दै यसलाई अझै व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि जस्तोसुकै सहयोग परेपनि मन्त्रालयको तर्फबाट सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । 

कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीले संक्षिप्त मन्तव्य राख्दै आफूले आफ्नो कार्यकालमा गफ भन्दा काम गरेर देखाउन खोजेको बताउनुभयो । 

कार्यक्रममा रात्रीकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष समीर गुरुङ्गले रात्रिकालीन व्यवसायका विभिन्न खाले समस्या रहेको भन्दै सरकारले एउटा निश्चित मापदण्ड बनाएर यसको सफल सञ्चालनमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियाले आफूहरुले राम्रो ठमेल, हाम्रो ठमेल भन्ने अवधारणा अनुसार काम अघि बढाएको बताउनुभयो । ठमेलमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सिसिटीभी जडानदेखि सोलार बत्ती राख्ने काम पनि सम्पन्न भएको बताउनुभयो । 

उहाँले पानी, ढल, सडक जस्ता महत्वपूर्ण विषयहरुलाई विशेष ध्यानमा राखेर काम अघिबढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा उपस्थित मन्त्री केसी, शाही तथा जोशीलाई ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष थपलियाले खादा तथा मालालगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईंको बिचार