Thursday, June 29, 2017  |    

पर्यटन बोर्डको पुर्नसंरचना आवश्यक छ, तत्काल काम अघि बढाउँछु : पर्यटन मन्त्री

प्रकाशित मिति: 2016/09/04

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले पछिल्ला वर्षहरुमा विकास शब्दको दुरुपयोग भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । विशेषत : राजननीतिक क्षेत्रले यसलाई सही रुपमा व्यवहारमा उतार्न नसकेको उहाँको भनाई छ । देशभरका र्‍याफ्टिङ्ग व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ र्‍याफटिङ् एजेन्सिज् (नारा) को २८ औं साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शाहीले आफूले विकास भनेको विग्रेको कामलाई सपार भन्ने अर्थमा बुझेको भएपनि यसलाई विगारेर सप्रेको कामलाई विगार भने झै भै रहेको गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागीहरु माझ निक्कै कडा मिजास देखाएर प्रस्तुत हुनुभएका पर्यटन मन्त्री शाहीले अहिलेको अवस्थामा सबैले विकासका लागि केही न केही काम गर्ने समय भएकोले विकास अर्थात् विग्रेको कामलाई सपार्ने ढंगबाटै सबै अघिबढ्नुपर्दछ भन्नुभयो । उहाँले नकारात्मक सोच र धारणा लिएर काम गर्दा कुनैपनि क्षेत्रमा सफलता प्राप्त हुन नसक्ने भन्दै सबैलाई सकारात्मक सोचका साथ अघि बढ्नका लागि पनि आग्रह गर्नुभयो । विशेषत नेपालको पर्यटन क्षेत्र मार्फत् नै देशले काँचुली फेर्न सक्ने भन्दै त्यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था, व्यक्ति तथा व्ययसायीहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो। एक प्रसंगमा मन्त्री शाहीले नेपालको समग्र पर्यटन क्षेत्रको विकास र विस्तार लगायतको जिम्मा पाएको नेपाल पर्यटन बोर्डको पुर्नसंरचना आवश्यक भएकोमा जोड दिनुभएको थियो । पछिल्ला केही महिनायता पर्यटन बोर्डका केही व्यक्तिहरुले बोर्डभित्र चरम राजनीति गर्दै आफू निकटका व्यक्ति तथा पार्टी निकटका व्यवसायीलाई मात्रै च्याप्ने प्रवृत्ति मौलाएको जानकारी पाएका मन्त्री शाहीले पर्यटन बोर्डको पुर्नसंरचना आवश्यक भएको बताउनुभयो । आफूले त्यसका लागि काम तत्काल अघि बढाउने जानकारी पनि उहाँले दिनुभयो । यस्तै उहाँले घरवास (होमस्टे) सञ्चालनको मापदण्ड बनाएर यसको क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले होमस्टे भनेको पाँचतारे होटल भएको ठाउँमा रहन नसक्ने भन्दै होमस्टे सञ्चालन गर्दा त्यहाँको गाम्रीण परिवेश, संस्कृति, कला, धर्मलगायतका विषयहरुको प्रबद्र्धन हुनेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको नाममा काठमाडौंलगायतका प्रमुख पर्यटकीय शहर  कंक्रिटमय बन्दै गएकोले यसतर्फ बेलैमा सबै सचेत हुनुपर्ने बताउनुभयो । नेपालको संस्कृति, मौलिक पहिचान तथा यहाँको सांस्कृतिक विविधता हेर्नका लागि पर्यटन नेपाल आउने भन्दै उहाँले कंक्रिटको शहर हेर्ने भए पर्यटकहरु फ्रान्सको पेरिस तथा अमेरिका जस्ता विकसिल राष्ट्रहरुमा जाने बताउनुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्पछि नेपालको पर्यटन क्षेत्र अहिले विस्तारै चलायमन अवस्थामा फर्कन लागेको भन्दै यसका लागि सकारात्मक ढंगले काम अढि बढाउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यस्तै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले नेपालको पर्यटन क्षेत्रमा र्‍याफ्टिङ्गको विशेष स्थान राखेको यसलाई विशेष महत्व दिएर काम अघि बढाउनुपर्ने बताउनुभयो । यस्तै नदीविद् डा. मेघ आलेले ह्वाईट वाटर र्‍याफ्टिङ्गका लागि नेपालको नदीहरु विश्वमै उत्कृष्ट रहेको भएपनि विदेशमा नेपालको पर्यटनका विषयमा प्रचार प्रसार हुँदा र्‍याफ्टिङ् क्षेत्र प्राथमिकतामा नपर्नु दुःखद भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक मितिका सदस्य राजेन्द्र सापकोटाले हल्लाको भरमा पछि लाग्नुभन्दा पनि वास्तविकता बुझेर सकारात्मक सोचका साथ अघिबढ्न पर्यटन व्वसायीलाई आग्रह गर्नुभयो । यस्तै नाराका अध्यक्ष चन्द्र दाहालले जलबायु परिवर्तनदेखि जल माफियासम्मको चपेटामा परेको र्‍याफ्टिङ्ग व्यवसायलाई जोगाउन नाराले मात्रै केही गर्न नसक्ने भन्दै सबै पर्यटन क्षेत्रले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा बोल्ने अन्य पर्यटन तथा र्‍याफ्टिङ्ग व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा आर्थिक उपार्जनको महत्वपूर्ण हिस्सा बोकेको र्‍याफ्टिङ्ग क्षेत्रको प्रचार प्रसार हुन नसक्दा आफूहरु समस्यामा परेको बताएका थिए । उनीहरुले र्‍याफ्टिङ् गर्ने नदीहरु प्रदुशित हुँदा तथा नदीहरु जलमाफियाको चंगुलमा पर्दा यसले आफूहरुको व्यवसाय नै संकटमा पर्नेतर्फ सबैको ध्यानाकर्षण गराएका थिए । पछिल्ला वर्षहरुमा नेपालमा अबैध रुपमा बालुवा तथा ढुंगा निकाल्ने, नदीको बहाव परिवर्तन गर्ने, विद्यूत् गृह निर्माणजस्ता नदीमाथि हुने अतिक्रमणका कारण र्‍याफ्टिङ्ग व्यवसाय संकटमा परेको छ । स्वदेशी पर्यटकहरुको समेत आकर्षणको रुपमा रहेको यो व्यवसायलाई जोगाइराख्नका लागि सरकारले तत्काल प्रभावकारी काम अघि बढाउनुपर्नेमा कार्यक्रममा बोल्ने अन्य क्षेत्रका वक्ताहरुले समेत जोड दिएका थिए ।

कार्यक्रममा ट्रेकिङ्ग एसोसिएन अफ नेपाल टानका अध्यक्ष चन्द्र रिजाल, नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स् (नाटा) का अध्यक्ष मधुसुदन आचार्य, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङ्गछिरिङ्ग शेर्पालगायतले धारणा राख्नुभएको थियो ।

तपाईंको बिचार