Monday, August 21, 2017  |    

बलराम न्यौपानेलाई राष्ट्रिय सम्मान

प्रकाशित मिति: 2016/09/08

भाद्र २३, रसुवा । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी बलराम न्यौपाने शिक्षा मन्त्रालयबाट सम्मानित हुनुभएको छ ।
रसुवाको धुन्चेमा विहिवार आयोजित ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा न्यौपाने सम्मानित  हुनु भएको हो ।
रसुवा जिल्लाको शिक्षा क्षेत्रको विकाशमा लामो समयदेखि सक्रिय न्यौपानेले जिल्लाका ग्रामिण विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामाग्री प्रदान, विद्यालय पुर्वाधार निर्माण र अन्य भौतिक सामाग्रीको निर्माण तथा वितरण गरी ग्रामिण क्षेत्रको शिक्षा सुधारमा महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।
जिल्ला शिक्षा अधिकारीको हातबाट सम्मानपत्र ग्रहणपश्चात पर्यटन व्यावसायी तथा  शिक्षाप्रेमी न्यौपानेले आफु ग्रामिण शिक्षाको स्तर बृद्धिका लागि निरन्तर लागिपरेको र त्यसका लागि बिभिन्न दाताहरु खोजेर विद्यालयलाई माथि उकास्न प्रयासरत रहेको भन्दै यो राष्ट्रिय सम्मानले आफु उत्साहित भएको बताउनुभयो ।
यसका साथै न्यौपानेले जिल्लाको ग्रामिण क्षेत्र भोर्ले गाविस क्षेत्रका ज्याङलाङ, सिस्नेरी, घोर्मु बेताङ  लगायतका दर्जनौ स्थानहरुमा शिक्षा, स्वास्थ्य केन्द्र निर्माण र स्वास्थ्य उपकरण लगायतका कार्यमा समेत महत्वपुर्ण सहयोग पुर्याउनुभएको छ ।
न्यौपानेलाई सम्मान गरिएकोमा भोर्ले गाविस लगायतका क्षेत्रका स्थानियबासी समेत खुसी देखिएका छन । शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यौपानेको योगदान अविस्मरणिय रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको भनाई छ ।
सम्मान कार्यक्रममा रसुवा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानिय विकाश अधिकारी राजेन्द्रदेव पाण्डे, जिशिअ बोधराज निरौला, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, विभिन्न पार्टीका राजनैतिक दलका प्रतिनिधी लगायत सर्वसाधरणहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।
 

तपाईंको बिचार