Sunday, November 19, 2017

ठमेल परिषद्को साधारणसभा स्थगित, सहमति पछि अर्को मिति घोषणा हुने : अध्यक्ष

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाडौं । ठमेल क्षेत्रको समग्र विकास र विस्तार गर्ने तथा यसलाई पर्यटक मैत्री बनाउनका लागि आवश्यक काम गर्ने उद्देश्यका साथ गठन भएको ठमेल पर्यटन विकास परिषद्को आजको लागि तय गरिएको साधारण सभा स्थगित भएको छ । आजको साधारणसभामा परिषद्को विधान संशोधन प्रस्ताव अघि बढाउने तयारी भएको थियो ।

तर यही विषयलाई लिएर परिषद्सम्बद्ध केही व्यक्तिले अमर्यादित गतिविधि गरेपछि तत्कालका लागि साधारणसभा स्थगित गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो । थपलियाका अनुसार ठमेल क्षेत्रका व्यवसायी, स्थानीयवासिन्दा तथा घरधनीलगायतलाई नै अप्ठेरो गर्ने गरी केही समूहले परिषद्का विरुद्ध गतिविधि गरिरहेकोले तत्कालका लागि साधारणसभा स्थगित गर्नुपरेको हो ।

यथास्थितिमा साधारणसभा गरिँदा परिषद् नै फुटको संघारमा पुग्नसक्ने भन्दै उहाँले अहिलेको अवस्थामा संस्थालाई एकताबद्ध बनाएर अघि बढ्नु नै बुद्धिमानी ठहर्ने देखिएकोले अधिवेशन स्थगित गरिएको हो । परिषद्ले असोज २ गते काठमाडौंको ठमेलस्थित मल्ल होटलमा परिषद्को साधारणसभा गर्ने गरी यसअघि तयारी अघि बढाएको थियो । थपलियाका अनुसार अहिले देखिएको विवादलाई आन्तरिक रुपमै समाधान भएपछि मात्रै अर्को मिति तय गरिने छ ।

तपाईंको बिचार