Saturday, April 29, 2017  |    

‘हरियो प्लेट’ हटाउदा पर्यटन धराशायी बन्ने खतरा

प्रकाशित मिति: 2016/09/23

असोज ७, काठमाडौं । पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।

    नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३ औँ वार्षिक साधारण सभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’ का सवारीमा विदेशीलाई मात्र बोक्न पाईने भन्ने नियमले मुलुकको पर्यटन धराशायी बन्ने खतरा औंल्याए । पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर व्यवस्थित गर्न डिजिटलाईज गरी हरियो प्लेटका सवारीले नेपाली बोक्न नपाउने गरी नयाँ व्यवस्था गर्न लागेको छ । यसरी हरियो प्लेटले विदेशी मात्र बोक्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पुग्ने व्यवसायीको भनाई छ ।

  साथै, उनीहरुले पर्यटक यातायातले अन्य सार्वजनिक सवारीसाधन सरह सरकारलाई राजश्व बुझाएको भएपनि अन्य सहुलियत नदिएकोमा गुनासो समेत गरेका छन् ।

पोखरा यातायात समितिका अध्यक्ष बोवरजंग गुरुङले हरियो प्लेटको लामो इतिहास रहेको र यसले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै यसलाई कुनै हालतमा हटाउन नहुने बताउनुभयो । पर्यटन व्यवसायी दिपक महतले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाई बढी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न व्यवसायीबीचको एकता जरुरी भएको खाँओ औंल्याउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामाले हरियो प्लेटमा नेपाली बोक्न नपाईने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने उल्लेख गर्नुभयो ।
    
तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटलाईज गर्न लागिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले व्यवसायीको हितमा हुने गरी नयाँ व्यवस्था गर्न लागिएको तर कस्तो व्यवस्था गर्ने भन्नेबारे अझै मन्त्रालय छलफलमै रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सकार प्रतिवद्ध रहेको उल्लेख गर्दै पर्यटकलाई गुणस्तरीय सेवाको सुनिश्चिताका लागि व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले हरियो प्लेटको पहिचानलाई सहितको डिजिटल नम्बर प्रणाली लागू गर्दा व्यवसायीको अहितमा नहुने बताउनुभयो । उहाँले पर्यटक यातायातलाई एम्बुलेन्स जस्तै राज्यले संरक्षण गरी सुरक्षित र गुणस्तरीय सेवा दिनुपर्ने खाँचो औंल्याउनुभयो ।

पर्यटन विभागका अधिकृत टंक भट्टराईले निजी क्षेत्रसँग साझेदारीका साथ सरकारले पर्यटक यातायातलाई व्यवस्थित बनाउन लागि परेको बताउनुभयो । सङ्घमा आवद्ध ७५ कम्पनीका साना ठूला सवारी गरी करिब दुई हजार ५०० बस सञ्चालनमा छन् त्यस्तै निजी क्षेत्रका करिब ७०० पर्यटक सवारी रहेको बताईन्छ । रासस÷सिबी अधिकारी

तपाईंको बिचार