Friday, October 20, 2017

विश्व पर्यटन दिवस ‘कर्मकाण्डी’ मै सीमित

प्रकाशित मिति: 2016/10/02

असोज १६, काठमाडौं । विश्व पर्यटन दिवस नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । तर, नेपालमा यो दिवसलाई केवल औपचारिकतामा मात्रै सिमित ‘कर्मकाण्डी’ मात्र बनेको छ । दिवसका दिन सरकारी तथा निजी सङघ–सङ्थाले केही हुल मानिस जम्मा गर्ने, भाषणबाजी गर्ने र पर्यटकलाई देखौटी रुपमा मात्र स्वागत गर्ने विगतदेखिको लामो परम्परागत शैलीले दिवको प्रभावकारिता र सान्दर्भिकता झल्केको छैन ।

विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको  यथार्थ हो । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि पर्यटन क्षेत्र अर्थतन्त्रको दरिलो आधार बनिरहेको छ, तथापि यस्ता अन्तर्राष्ट्रिय दिवसलाई नेपालले भरपूर उपयोग गर्नसकेको खण्डमा मुलुकको समृद्धिका लागि पनि उपयोगी हुने देखिन्छ ।  पर्यटन दिवसलाई कर्मकाण्डी मात्र बनाउँदा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसेको स्वयम सरकार र निजी क्षेत्रका अधिकारी स्वीकार्छन् । पर्यटन सम्बन्धी संस्थाले दिवसलाई सान्दर्भिक बनाउन आफ्नो क्षेत्रबाट भरपूर सहयोग गरेपनि सरकारी उदासिनताले यो प्रभावकारी बन्न सकेको छैन । पर्यटन दिवसलाई विशेष पर्वका रुपमा स्थापित गर्नसके यसबाट पर्यटकीय लाभ लिन सकिने व्यवसायीको  बुझाइ छ । विश्वका अधिकांश मुलुकहरुले भन्यरुपमा ३७औँ विश्व पर्यटन दिवस मनाइरहेको अवस्थामा नेपालमा भने यो औपचारिकतामै केन्द्रित  भएको छ ।
 सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ । पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्नु बिडम्बना भएको नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा बताउछन् ।

 नेपालमा पर्यटन दिवसको ३७ वर्षे लामो अवधि औपचारिकतामै सीमित रहेकाले उपलब्धिमूलक देखिएन, दिवसलाई ठूलो पर्वका रुपमा लिएर प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकलाई मनोरञ्जन दिने सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्न सकेको खण्डमा यो सान्दर्भिक हुने थियो सापकोटाले भने ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुशुधन आचार्यले विश्व पर्यटन दिवस नारामा मात्रै सिमित गरी औपचारिकताका लागि मात्रै भएको बताउनुभयो ।

उहाँले विश्व पर्यटन दिवसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय करणमा पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय स्तरका कूटनीतिक नियोगका व्यवक्तित्वलाई आमन्त्रण गरी विशेष प्याकेजसहित मनाउनुपर्नेमा सरकार चुकेको बताउदै आगामी विश्व पर्यटन दिवसमा व्यवसायीसँग घनीभूत छलफल गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

‘निजी क्षेत्रले आफ्नो हैसियत र गक्ष्य अनुसारको विश्व पर्यटन दिवस मनाउन सहयोग गरेकै हो, तर सरकारको उदासिनताले व्यवहारिक पक्ष केही देखिएन’ उहाँले भन्नुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ) नेपालका अध्यक्ष कमल सापकोटाले विश्व पर्यटन दिवसलाई राष्ट्रिय महोत्सवकै रुपमा लैजानुपर्नेमा सरकार चुकेको बताउनुभयो । उहाँले पर्यटन ऐन, नियमानै पुराना व्यवस्थालाई हटाएर नयाँ तरिकाबाट राष्ट्रिय तथा अन्तराष्र्टि«य जगतमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

 नेपालमा पर्यटनका महत्वपूर्ण दिवसका रुपमा मे २९ को सगरमाथा दिवस र २९ सेप्टेम्बरको विश्व पर्यटन दिवस पर्यटन प्रवद्र्धन गर्ने मूल आधार हुन् । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, वेशभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य मानिन्छ । पर्यटनको प्रचुर सम्भावना रहे पनि सरकार र निजी क्षेत्रको समन्वयको अभाव र दूरदर्शिताका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन ।

 त्यसो त, प्राकृतिक र मानवसिर्जित विपत्तिले पनि मुलुकको पर्यटन क्षेत्रलाई केही थिलथिल बनायो । भूकम्प गएको डेढ वर्षको अवधिमा क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुन नसक्नु र क्षति हुन पुगेका संरचनाको पनि प्रवद्र्धन गर्न नसक्दा पर्यटक बढ्न सकेनन् । २०७२ साल वैशाख नज१२ को गोरखा भूकम्पबाट २४ जिल्लाका करिब ८०० सम्पदा प्रभावित भएका थिए । त्यसमध्ये १५० पूर्ण क्षति र केही आंशिक क्षति भएका छन् । पुरातत्व विभागका अनुसार हनुमानढोका, पाटन, भक्तपुर, चाँगुनारायण, त्रिपुरेश्वर, बुङमती आदिमा पुनःनिर्माणको काम भइरहेको छ । सम्पदा पुनःनिर्माणका लागि करिब १० अर्ब लाग्ने बताइएको छ । पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले विश्व पर्यटन दिवसलाई औपचारिकता निभाउनेभन्दा पनि आगामी दिनमा रचनात्मक कार्यक्रमका साथ मनाइने बताउछन् ।

पर्यटनको मुख्य चुनौती हवाई सञ्जाल र यातायात विस्तार भए पनि त्योभन्दा बढी पर्यटनको बजारीकरण र प्रवद्र्धन हो । वार्षिक आठ लाख पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । तीमध्ये पाँच लाख हवाई र बाँकी स्थलमार्ग हुँदै आउने गरेको नेपाल पर्यटन बोर्डको विवरण छ ।

यसैबीच, ३७औँ विश्व पर्यटन दिवस मङ्गलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो । ‘पर्यटनमा सबैलाई विश्वव्यापी पहुँचलाई प्रवद्र्धन’ भन्ने मूल नाराका साथ प्रभातफेरी, औपचारिक समारोह तथा पर्यटकलाई स्वागत गरी दिवसलाई औपचारिकता दिइयो ।

 

तपाईंको बिचार