Wednesday, April 26, 2017  |    

गोरखाका भुकम्पपिडितलाई एनआरएनले नमुना बस्ती बनाईदिने

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले गोर्खाका भूकम्प पीडितहरुलाई नमुना बस्ती निर्माण गरिदिने भएका छन ।
बुधबार एनआरएन अध्यक्ष शेष घलेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नमूना बस्ती शिलान्यास गरिदिन आग्रह गरेका थिए । अध्यक्ष घलेको सो आग्रहलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको एनआरएनका कार्यकारी निर्देशक राजेश शमसेर राणाले जानकारी जानकारी दिए ।
एनआरएनले गत वैशाख १२ को भूकम्पबाट घरबार विहीन भएकाहरुका लागि सबै सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । त्यसका लागि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
गत वैशाख १२ गते गोर्खाको लाप्राक केन्द्रविन्दु भएर विनाशकारी महाभूकम्प गएको थियो । भूकम्पले गोर्खासहित १४ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने लाप्राकमा जमिन फाटेर बस्ती नै बस्न नसक्ने अवस्था छ ।
एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ६ सयवटा घरहरुको नमूना बस्ती बनाइने छ र त्यहाँ लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ ।
भूकम्पलगत्तै पीडितहरुको उद्धार, राहत वितरण तथा पुनर्निमाणमा सक्रिय भएको एनआरएनले सरकारसमक्ष एकीकृत नमूना बस्ती निर्माणको योजना प्रस्ताव गरेको थियो । तर, सरकारले ढीला गरी त्यसलाई स्वीकार गरेको थियो । राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एनआरएनबीच नमूना बस्ती निर्माणको सम्झौता भएपछि विस्तृत अध्ययन गरी गुरुयोजना बनाइएको थियो ।

नमूना बस्ती निर्माण र भूकम्प पीडितहरुको राहतका लागि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।
 

 

तपाईंको बिचार