Monday, August 21, 2017  |    

पर्यटनको नयाँ ‘प्रोडक्ट’ स्की

प्रकाशित मिति: 2016/10/27

कार्तिक ११, काठमाडौं । अग्ला हिमाल र हिमचुलीको पहिचान बोकेको नेपालमा पर्यटनको नयाँ प्रोडक्टका रुपमा स्कीको व्यावसायिक अभ्यास सुरु भएको छ । साहसिक पर्यटनको दरिलो आधार मानिने स्की हिउँमा चिप्लिएर खेलिने साहसिक एवम् रोमाञ्चक खेल हो । यसको व्यावसायिक प्रवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्र लागिपरेका छन् ।

सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालले नेपाललाई विश्वमा पहिचान गराई त्यहाँबाट विदेशी पर्यटक आकर्षण गरिरहेको सन्दर्भमा अर्को पहिचान थपिएको छ, स्कीका विभिन्न रोमाञ्चित खेलले । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की तथा स्नोबोर्डिङ खेलको विकास गरेर पर्यटक आकर्षित गर्न नेपाल माउण्टेन एकेडेमी र स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आवद्ध युवा लागिपरेका हुन् । उनीहरुले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको काम पनि अघि बढाएका छन् । यो प्रयासलाई साथ दिएका छन् जर्मनीका २४ वर्षीय जुलीयस सेइडेन्डर र ज्याकोव थाउले ।

क्यानडाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त इजाजत पत्र लिएका जुलियस स्की र स्नोबोर्डिङ तथा ज्याकोव स्नोबोर्डिङका प्रशिक्षक हुन् । प्रशिक्षक जुलियसले स्कीका लागि नेपाल उपयुक्त गन्तब्य भएकाले नेपालमा पर्यटक आकर्षित र प्रवद्र्धन गर्ने साहसिक खेलका रुपमा विकास गर्न सकिने बताउनुभयो । अस्ट्रियासहितका देशमा स्की सिकाउदैँ आउनुभएका जुलियसले नेपालको हिमाली क्षेत्रमा प्राकृतिक रुपमै मुख्य सिजनमा हिउँ पाइने भएकाले साहसिक खेलको रुपमा यसको विकास गर्न सकिने धारणा राख्नुभयो ।
    
पहिलो स्की नेपाल एक्सपिडिसनमा नेपाल माउन्टेन एकेडेमीले सहयोग गरेको थियो । मेरा ला भञ्ज्याङबाट चुलीतर्फ भएको प्रशिक्षणमा हिउँ पहिरोमा गरिने उद्धारसहित खेलको व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको प्रतिष्ठानका कोषाध्यक्ष सुरज काफ्लेले बताउनुभयो । “एक प्रकारको यन्त्र (डिभाइस) समेत हुने भएकाले आरोही हिउँमा पुरिंदा पत्ता लगाउन सकिने खालको उद्धार विधि र स्की एवम् स्नोबोर्डिङका नयाँ पुराना तौरतारिका, सीप र ज्ञान दिइन्छ,” काफ्लेले भन्नुभयो । स्कीको व्यावसायिक सम्भावना रहेतापनि त्यहाँसम्म पुग्ने सडक सुविधा नहुनु, स्कीबारे जनचेतना अभिवृद्धि र जनशक्ति अभावजस्ता चुनोति छन् । पश्चिमा संस्कारको स्की खेल युरोप र अमेरिकाका साथै पछिल्लो समय एसियाका कतिपय देशमा विकसित भएको पाइन्छ । अहिले चीन, भारतले पनि यसको व्यावसायिक सुरु गरेका छन् ।
    
के हो स्की तथा स्नोबोर्डिङ ?

स्की धेरै थरिका छन् यो हिउँमा चिप्लेटी खेल्ने साहसिक तर रोमाञ्चक खेल हो । यो खेलका लागि कुनै उमेर समूह पेशाले छेक्दैन । हिउँपर्ने स्थान जहाँपनि खेल्न सकिन्छ । खेलका लागि स्की स्कीन, स्की स्टीक, स्की बुट, स्नोबोर्ड जस्ता सामग्री आवश्यक पर्छ ।    हिमाली देश नेपालमा स्कीको प्रचुर सम्भावना रहेकाले वर्षको ६÷७ महिना हिउँ पर्ने ठाउँमा स्कुल नै खोल्ने प्रयास भएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताउनुभयो ।

 

तपाईंको बिचार