Thursday, November 23, 2017

पोखरा र भैरहवा अन्तर्राष्ट्रियस्तरका् विमानस्थल बन्ने

प्रकाशित मिति: 2016/10/28

कार्तिक १२, काठमाडौं । पश्चिम नेपालका दुई सहर, पोखरा र भैरहवामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रममा छन्। भैरहवामा सञ्चालनमा आइरहेको विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ भने पोखरामा नयाँ विमानस्थल बन्दै छ।

दुबै विमानस्थल अबको बढीमा पाँच वर्षभित्र बनिसक्ने भनिएको छ। आधुनिक प्रविधिसहित बन्न लागेका यी दुई विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भने बन्न नसक्ने देखिएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीका अनुसार पोखरामा ४० वर्षअघि क्षेत्रीयस्तरको विमानस्थल बनाउने योजना बनेको थियो। ४० वर्षमा क्षेत्रीय विमानस्थल बनाउने काम भएन तर त्यसलाई अन्तर्राष्ट्रिय चाहिँ भन्न थालियो। ‘अब त त्यो अन्तर्राष्ट्रिय विमानस्थल भनेर बनाउन लागिएको छ,’ केसीले भने, ‘तर, अन्तर्राष्ट्रिय भने पनि पोखरा विमानस्थल फुलफेज अन्तर्राष्ट्रिय स्तरको हुन सक्दैन, वरिपरि पहाड भएकाले त्यहाँ ठूला जहाज अवतरण गर्न गाह्रो हुन्छ।’

उनले अन्तर्राष्ट्रिय विमानस्थलको परिभाषा नै स्पष्ट नभएको बताए। ‘भुटानको थिम्पुमा रहेको विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान हुन्छ, हाम्रो टिआइएलाई पनि अन्तर्राष्ट्रिय विमानस्थल भनिन्छ। तर, यी फुलफेज अन्तर्राष्ट्रिय विमानस्थल होइनन्,’ केसीले भने ‘पोखरा त झन् मिडियम खालका जहाज बस्न सक्ने विमानस्थल हो।’ उनका अनुसार पोखरा विमानस्थलमा एयरबस ३२० र बोइङ ७५७ जहाज अवतरण गर्न सक्छन्। यी जहाजको क्षमता चालक दलका सदस्यसहित दुई सय जनासम्मको हुन्छ।

प्रविधिका हिसाबले भने यी विमानस्थल त्रिभुवन विमानस्थलभन्दा आधुनिक हुनेछन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीका अनुसार विमानस्थलको ४५ मिटर चौडा र २५ सय मिटर लामो धावनमार्ग र ट्याक्सी पार्किङ सिमेन्ट कंक्रिटले बनाइने छ। ‘यो अलकत्राको दाँजोमा बलियो हुनुको साथै पोखराको जस्तो फ्रजाइल भू–वनोटको लागि उपयुक्त हुन्छ,’ अधिकारीले भने, ‘यसका भवन पनि स्टिल स्ट्रक्चरका हुनेछन्। त्रिभुवन विमानस्थलमा नभएको एरोब्रिज पोखरा र भैरहवा विमानस्थलमा विमानस्थलमा हुने छ।’

जहाज एप्रोनमा आइसकेपछि एरोब्रिज ९टर्मिनलबाट सिधै जहाजमा यात्रु जान मिल्ने बाटो०ले जहाजलाई टर्मिनल भवनमा जोड्ने छ। अहिले त्रिभुवन विमानस्थलमा नेपाल वायुसेवा निगमले सञ्चालन गरिरहेका सिँढी जडान गरेर यात्रुलाई ओराली बसमा चढाएर टर्मिनलसम्म ल्याइन्छ।

पोखरा विमानस्थलमा आइएलएस (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम) हुने छ। यो सिस्टममा पाइलटहरूको धावनमार्गसँग भिजवल कन्टेक्ट टुटेपछि आइएलएस प्रविधिको माध्यमले जहाजलाई शून्य भिजिबिलिटीमा पनि अवतरण गराउन सक्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अहिलेसम्म पनि आइएलएसमा जोडिन सकेको छैन।

पोखरा विमानस्थल चार वर्षमा बन्ने

पोखरा विमानस्थलको शिलान्यास गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले विमानस्थल बनाउने ठेक्का पाएको छ। विमानस्थल बनाउन लाग्ने २२ अर्ब रुपैयाँ चीन सरकारले नेपाललाई ऋण दिने सम्झौता भइसकेको छ।

चीनको एक्जिम बैंकले सो रकम ठेकेदार कम्पनीलाई उपलब्ध गराउने छ। आयोजना प्रमुख अधिकारीका अनुसार विमानस्थल शिलान्यास भए पनि निर्माणको काम सुरू भइसकेको छैन। ‘कम्पनीले दिएको डिजाइनमा केही कुरा सुधार्न हामीले भनेका छौं, त्यो आउने क्रममा छ,’ अधिकारीले भने, ‘अर्को कुरा इस्कु खाता खोल्नुपर्ने नयाँ नियमले पनि केही ढिला भएको हो।’

उनका अनुसार चिनियाँ बैंकलाई सात वर्षपछि नागरिक उड्डयन प्राधिकरणले पैसा तिर्ने ग्यारेन्टी गर्न यस्तो खाता खोल्नुपर्छ। सो खातामा पहिलो किस्ताको रकम तिर्ने मितिभन्दा दुई महिना अगाडि नै पैसा जम्मा गरिसक्नुपर्छ। ‘नेपालमा यो सिस्टम अहिलेसम्म प्रयोग नभएकाले यसमा ढिला भएको हो। अब केही दिनमा त्यो खाता खोलिन्छ होला,’ अधिकारीले भने, ‘खाता खुल्नासाथ निर्माण काम सुरू हुन्छ।’ निर्माण सुरू भएको चार वर्षमा विमानस्थल बनाउनु पर्ने सर्त भए पनि सो अवधि एक वर्ष थप्न सकिने अधिकारीले बताए।

भैरहवा विमानस्थल स्तरोन्नति धमाधम

सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने गरी सुरू गरिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम अहिले धमाधम भइरहेको छ।

अघिल्लो वर्ष निर्माण सामग्रीको अभावमा काममा ढिलाइ भए पनि पछिल्लो समय समस्या नरहेको विमानस्थल आयोजना प्रमुख ओम शर्माले बताए।

शर्माका अनुसार विमानस्थलमा अहिले तीन हजार मिटर लामो धावनमार्गको सतहमुनि माटो विछ्याउने (अर्दन० काम सकिएको छ। यस्तै, अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर र प्रशासकीय भवनको पनि जमिनको सतहसम्मको काम पूरा भएको छ। अर्दन पूरा भएपछि दुई फिटसम्म गिट्टी बालुवा विछ्यााएर प्रिसबबेसको काम गर्नुपर्ने र त्यसपछि सबबेस र बेस हुँदै पिच गरिने प्रमुख शर्माले जानकारी दिए।

विमानस्थल निर्माणमा सबैभन्दा अप्ठ्यारो र समय लाग्ने धावनमार्गको काम भएकोले धावनमार्ग बनेपछि अरु काम छिटो अगाडि बढ्ने उनले बताए।

जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुने छ। हवाई सुरक्षाका लागि रनवेको दुबैतर्फ ३र३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ।

तीन हजार मिटर लामो धावनमार्ग माटो कम्प्रेसन गरी सबग्रेड लेबल तयार भइसकेकोले आपतकालीन अवस्थामा भने अहिले नै विमान अवतरण गर्न सकिने प्रमुख शर्माले बताए।

तीन वर्षमा निर्माण सक्नेगरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले विमानस्थलको स्तरोन्नतिको जिम्मा पाएको थियो। मधेस आन्दोलन तथा निर्माण सामग्रीको अभावले केही समय काम सुस्ताएपछि छ महिना ढिलो निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिए।

पहिलो चरणको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुनः ग्लोबल टेन्डर गरिने प्राधिकरणले जनाएको छ। भौतिक पूर्वाधारको निर्माण अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, घाग्रा खोलाको डाइभर्सन, पार्किङ वे, टर्मिनल भवन लगायत संरचना बन्दैछन्।

यस्तै, विमानस्थलको सिभिल वर्कको काममा आन्तरिक टर्मिनल भवन, छ मध्ये दुई वटा जहाजका लागि एप्रोन, कार्गो भवनसहितका पूर्वाधार भने प्राधिकरण आफैंले निर्माण गर्ने छ।

‘निर्माण सामग्री अभाव नभए अबको दुई वर्षमा विमानस्थलको निर्माण कार्य पूरा हुन्छ,’ शर्माले भने।

सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल स्तरोन्नति गर्न लागेको हो।

तीन हजार मिटरको धावनमार्ग बनेपछि ‘वाइड बडी’का जहाज पनि अवतण गर्न सक्ने छन्। शर्माले गौतम बुद्ध विमानस्थलमा एअरबस ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सक्ने बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवन विमानस्थलमा अवतरण हुने सबै जहाज अवतरण हुनसक्ने भए पनि त्यसका लागि भारतसँग हवाई क्षेत्र प्रयोग गर्न पाउने सम्झौता गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केसीले बताए। ‘त्यहाँ समथर जमीन भएकाले काठमाडौंको भन्दा सहज तरिकाले जहाज अवतरण हुन सक्छन्,’ केसीले भने, ‘तर, त्यसो गर्दा भारतको हवाई क्षेत्र पनि प्रयोग गर्नुपर्दछ। भारतसँग हवाई क्षेत्र प्रयोग गर्नेबारे अहिलेसम्म सम्झौता भइसकेको छैन।’

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा समस्या आइपर्दा प्रयोग गर्न सकिने गरी बनाउन लागिएको बताए। ‘हरेक देशमा जहाज एक विमानस्थलमा अवतरण गर्ने अवस्था नभएपछि नजिकैको अर्को विमानस्थलमा अवतरण गर्ने विमानस्थल हुन्छन्। तर, हामी त त्रिभुवन विमानस्थलमा समस्या भयो भने भारतीय विमानस्थलमा जानुपर्छ,’ केसीले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने भारतीय विमानस्थल प्रयोग गर्नु पर्दैन।’

उनले पोखरा र भैरहवा दुबै पर्यटकीय ठाउँ भएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चल्ने अपेक्षा गरिएको भए पनि तिनीहरू त्रिभुवन विमानस्थलको विकल्प हुन नसक्ने बताए। ‘यी विमानस्थलबाट सार्क मुलुकका सहर जोड्न सकिन्छ भन्ने हो,’ केसीले भने, ‘त्रिभुवन विमानस्थलको विकल्प त निजगढ विमानस्थल नै हो। त्यहाँ फुलफेज अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना छ।’

तपाईंको बिचार