Thursday, September 21, 2017

सौराहामा पर्यटकको वृद्धि

प्रकाशित मिति: 2016/11/26

मंसिर ११, चितवन । पर्यटकीय आकर्षणको केन्द्र चितवनको सौराहामा आन्तरिक पर्यटकको आगमन बढेको छ। बिभिन्न जिल्लाबाट घुम्न आउने नेपाली पर्यटकको संख्यामा बृद्धि भएको छ। सौराहाका पर्यटकीय केन्द्र मानिएका स्थानमा आन्तरिक पर्यटकको संख्या बाक्लो देखिएको छ।  भूकम्पपछि शून्य जस्तै बनेको पर्यटकीय गतिविधि बढेको छ। बाह्य पर्यटक तुलनामा आन्तरिक पर्यटक बढेसंगै यहाँ चहलपहल देखिन थालेको छ। यो सिजन आन्तरिक र वाह्य पर्यटक आवागमन हुने समय हो। आन्तरिक पर्यटक २ रातसम्म सौराहामा बस्छन्। उनीहरुले २ रातमा ८ हजारसम्म खर्च गर्ने गर्छन । आन्तरिक पर्यटकको अवस्था १० प्रतिशतले बढेर ४० प्रतिशत पुगेको छ। भूकम्पअघि ३० प्रतिशत आन्तरिक पर्यटक यहाँ घुम्न आउँथे।

सौराहामा भारत र चीनबाट आउने पर्यटकको संख्या भने निकै कम छ। नेपालमा ५०० र १००० दरका भारतीय पैसा अहिले प्रतिबन्ध छ। भारतीय पैसाका कारण पनि त्यहाँ पर्यटकको संख्यामा निकै कमी आएको ब्यवसायीले बताए। सौराहामा अहिले सानाठूला गरेर १ सय १० वटा होटल र करिव ५० वटा रेष्टुरेन्ट छन्। सौराहामा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी मार्फत गैडा, बाघ, जंगली हात्ती, भालु, चराचुरुङगि लगायत हेर्न पाइन्छ। डुङ्गा सयरको मज्जा पनि लिन पाइन्छ। यहाँ थारु संस्कृतिको लठ्ठी नाच,झम्टा नाच पनि पर्यटक आकर्षण माध्यम हो।

 

तपाईंको बिचार