Thursday, March 23, 2017  |    

गाउँ पर्यटन प्रवद्र्धनमा भिटोफको सक्रियता

प्रकाशित मिति: 2016/11/28

दमौली, १३ मंसिर । तनहुँ जिल्लाको ब्यास नगरपालिका अन्तर्गत दुम्सी दरै गाउँकी आसा दरैको घरमा सधैभन्दा शुक्रबार छुट्टै चहलपहल थियो । मनाश्लु हिमालको शिखरलाई चुम्दै सुर्यको किरण अस्ताउँदै गर्दा दरै गाउँमा केही पाहुनाहरु पुगे । थालिमा टिका, हातमा माला, स्याउ, चकलेट र ऐना बोकेर स्वागतमा बसेका ‘दरै’ समुदायका सुन्दरीहरुले पाहुनाहरुलाई टिका, माला र खादा लगाएर स्वागत गरे । उनीहरु थिए– भिटोफ (गाउँ पर्यटन प्रवद्र्धन मञ्च) नेपालका पदाधिकारी ।

काठमाडौं र पोखराका महँगा होटलमा हुने कोठे बैठकहरु छोडेर उनीहरु आफ्नै खर्चमा नयाँ पर्यटन गन्तव्य पहिल्याउँन भन्दै दमौलीबाट ५ किलोमिटर भित्र रहेको दरै गाउँमा पुगेका थिए । उनीहरु पुग्नासाथ स्थानियहरुले भव्य स्वागत गरे । भिटोफ नेपालको काठमाडौंमा रहेको केन्द्रीय कार्यसमिति र पोखरामा रहेको शाखा कार्यालयको संयुक्त बैठकका लागि दरै गाउँ पुगेका पर्यटन व्यावसायीहरुले सो गाउँलाई नयाँ पर्यटन गन्तव्य स्थल घोषणा गरेका छन् ।
४६ घर ‘दरै जातिको बसाईं रहेको उक्त स्थानमा स्थानिय दरै महिलाहरुले होमस्टे सञ्चालनमा ल्याएका छन् । दरै गाउँमा पुुग्नेहरुले दरै जातीको संस्कृति, रितिरिवाज र गीत संगीत तथा नृत्यमा रमाउँन सक्छन् ।
माघे सक्रान्तिको दिन दरैहरुको पहिचान झल्काउँने कौरा र चुट्का नाच देखाइन्छ । गाउँका अधिकांश पुरुषहरु भने खाडी मुलुक तिर भासिएका छन् । यता दुम्सी गाउँलाई पर्यटन गन्तव्य गाउँको रुपमा घोषणा गरिएपछि यहाँ पर्यटक आउने प्रशस्त संभावना बढेर गएको छ । भिटोफका पदाधिकारीहरुले यो वर्ष भित्र नै यो गाउँलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुको धारणालाई हामीले यहाँ राखेका छौँ ।

 कमल सापकोटा
अध्यक्ष भिटोफ नेपाल

गाउँ नटेकिकन कुनै पनि पर्यटन हुँदैन । तर, हामीले सोचे जति गर्न सकेका छैनौँ । यद्धपी हामीले दुम्सी दराई गाउँलाई विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल सरकार र पर्यटन बोर्डसँग सहकार्य गरेर गन्तव्य गाउँ २०१७ भनेर घोषणा गरेका छौँ । घोषणा मात्रै गरेर हुँदैन । यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यतिराम्रो बस्ति छ । उहाँहरुको आफ्नै बस्ति छ । बाटोमा हिमाल पनि देख्न सकिन्छ । यसलाई विशेष संभावनाको क्षेत्रको रुपमा लिन सकिन्छ ।
हामीले यो वर्षभित्र यो गाउँलाई प्रचार प्रसारमा ल्याउँछौँ । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएपछि हामीले यो गाउँलाई छोडिदिनेछौँ । र, अर्को गाउँलाई पर्यटन गन्तव्य घोषणा गर्नेछौँ । हामीले पोखरा र कास्की च्याप्टरसँग संयुक्त बैठक ग¥यौं । हामीले केन्द्र र शाखा सहकार्य गरेर जाने निर्णय पनि गरेका छौँ । यो गाउँलाई प्रवद्र्धन गर्नका लागि कास्की शाखाको अलि बढी भूमिका हुन्छ । उहाँहरुले बढी भूमिका निर्वाहा गर्नुहुनेछ । होमस्टे भन्ने वित्तिकै यसलाई ठूलो लगानी गर्नुपर्दैन । आफ्नो घरमा भएको तन्नालाई सफा गरेर सुत्ने स्थान बनाउँने, आफ्नै घरमा भएको चिजलाई सफासँग पकाएर खान दिने हो । ठूलो लगानी विना उहाँहरुले आम्दानी गर्नुपर्छ । एकरातमा होमस्टे बस्दा एउटा विदेशीले खान बस्न र सुत्न गरेर एक हजार जति खर्च गर्छ । अन्य केही भयो भने एक हजारदेखि २ हजारसम्म एक रातमा आम्दानी गर्नसक्नुहुन्छ । एकै रातमा १० जना मात्रै पर्यटक आयो भने एकै रातमा १० हजार कमाई हुन्छ । त्यसमा बाहिरबाट लगानी केही चाहिँदैन ।

राम घले, बरिष्ठ उपाध्यक्ष भिटोफ

यहाँको विल्कुलै फरक संस्कृतिले हामीलाई मोहक बनायो । यहाँको उत्पादनबारे हामीले पर्यटनबोर्डलाई पनि जानकारी दिनेछौँ । मैले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी लिएको छु । यहाँको गाउँ पर्यटनलाई प्रवद्र्धन गर्न मेरो भूमिका रहनेछ । यहाँ दुखकै कुरा भन्नुपर्छ यहाँका पुरुषहरु विदेशमा छन् । हामी भिटोफ नेपालले यो गाउँको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न सके यहाँका युवाहरु खाडीबाट फर्किएर यहीँ रोजगारी दिन सक्नुपर्छ ।

बासुदेव पाण्डे,
महासचिव भिटोफ नेपाल

हामीले पर्यटन गन्तव्य घोषणा नगरी शुरुवात हुँदैन । हामीले ग्रामिण क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रमलाई तिब्र रुपमा विकास गरेका छौँ । अबको पर्यटन भनेको ग्रामिण क्षेत्र हो । पर्यटकको न्युनतम आवश्यकता पुरा गरेर नेपाली संस्कृति र पहिचान हामीले देखाउँनुपर्छ ।

 

    
    

 

तपाईंको बिचार