Wednesday, August 23, 2017

नाटोजद्वारा पर्यटन पत्रकार पुष्प थपलियालाई स्वास्थ्यलाभको कामनासहित रु. ४७ हजार हस्तान्तरण

प्रकाशित मिति: 2016/12/14

काठमाडौं , २९ मंसिर । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले विगत लामो समयदेखि मुखमा क्यान्सर भएर उपचार गर्दागर्दै दुबै मृगौलासमेत फेल भएर टिचिङ अस्पतालको आईसीसीयूमा उपचाररत पर्यटन पत्रकार पुष्प थपलियालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ४७ हजार रुपैयाँ धनराशीसहितको लाइफ टाइम टुरिजम जर्नालिष्ट पर्सनालिटी अवार्डबाट सम्मानित गरेको छ । उहाँलाई नाटोज पर्यटन पत्रकारिता कल्याणकारी कोषमार्फत उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मानपत्रसहित ४७ हजार रुपैयाँ बराबरको चेक नाटोज अध्यक्ष शिव अधिकारी र रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा थपलियाँकी धर्मपत्नी गीता थपलियालाई प्रदान गर्नुभयो । उक्त कार्यक्रममा पर्यटन व्यवसायी दीपक महत, छेटुप तामाङ तथा नाटोजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । करिब ३ दशकदेखि पर्यटन पत्रकारितामा निरन्तर संलग्न रहँदै आउनुभएका थपलिया गोरखा पर्यटनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

नाटोजले विगतदेखि नै पर्यटन पत्रकारिता कल्याणकारी कोषमार्फत पर्यटन पत्रकारहरुलाई सहयोग गर्दै आएको छ । यसअघि सोही कोषमार्फत सगरमाथा आरोहणमा गएकी पर्यटन पत्रकार कल्पना महर्जन, पुराना पर्यटन पत्रकार हरिराज जोशीलगायतलाई सहयोग गरिसकेको छ ।

अध्यक्ष अधिकारीले थपलियाको शीघ्रस्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले पर्यटन पत्रकारहरुलाई भइपरी आउने जस्तोसुकै समस्यामा पनि नाटोजले साथ सहयोग गर्दै आएको र सोही शिलशिलामा पर्यटन पत्रकारिता क्षेत्रमा थपलीयाले पु¥याउनुभएकोमा सम्मानसहित आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो ।

नाटोजले कोषमा सहयोग गर्ने सम्पूर्ण पर्यटन व्यवसायीहरुप्रति धन्यवाद प्रकट गरेको छ ।

तपाईंको बिचार