Sunday, June 25, 2017  |    

टिम्स रकम टान भित्र्याउने बर्तमान नेतृत्वको सपना अनिश्चत बन्यो

प्रकाशित मिति: 2017/01/04

पुस २०, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) को ३८ औ साधारण सभामा अध्यक्ष चन्द्र रिजालले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) वापतको रकम भित्र्याउने घोषणा गरेपनि उक्त घोषणा केबल हल्ला मात्र भएको थप पुष्टि भएको छ । पर्यटन मन्त्रालयको उच्च स्रोतले गन्तव्य नेपाललाई दिएको जानकारी अनुसार टानले टिम्स अन्तर्गत खर्चको हिसाव किताव फ्च्यौट नगरेको यो अवस्थामा टानलाई रकम उपलब्ध नगराउने बताएको छ । 

व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र सार्वजनिक लेखा समितिले समेत यस अघि नै टानले टिम्स अन्तर्गतको लेखा परिक्षण नगरेको भन्दै रकम निकासा रोक्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको थियो । त्यस्तै रिजाल नेतृत्वकै वर्तमान टान कार्यसमितिले टिम्सको रकममा अनियमितता भएको भन्दै निर्वतमान अध्यक्ष रमेश धमला नेतृत्वको कार्यसमिति विरुद्ध छानविनका लागि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगामा उजुरी हालेको थियो । तर पुन यही कार्यसमितिले अहिलेकै अवस्थामा रकम माग्न तारन्तार प्रयास गर्नु हास्यास्पद भएको टिप्पणी गरिएको छ । 

विभिन्न शक्ति केन्द्र धाएर टिम्स रकम टानमा ल्याउने प्रपन्च रचि रहेपनि विगतको कराडौ रकमको हिसवा किताव नबुझाए सम्म टानले अव टिम्सको रकम नपाउने मन्त्रालय उच्च स्रोतले गन्तव्य नेपाललाई जानकारी दिएको छ । 

नेपालमा विसं २०६६ सालदेखि टिम्स कार्ड लागु भएको छ । सगरमाथा आधार क्षेत्र, लाङटाङ र अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकले टिम्स कार्ड किन्नु पर्ने हुन्छ । जस अनुसार समूहमा जाने पर्यटकले १ हजार र व्यत्तिगत जानेले २ हजार रुपैयाँमा टिम्स किन्नुपर्छ । यसबाट संकलित रकम मध्य ३० प्रतिशत बोर्ड, ३० प्रतिशत टानको भागमा पर्छ भने १० प्रतिशत मजदूर कोषमा जम्मा गर्नुपर्छ र बाँकी ३० प्रतिशत दुबै संस्थाले संयूक्त रुपमा पर्वतिय पर्यटन विकासमा खर्च गर्न पाउने प्रावधान छ । तर उक्त रकम टान नेतृत्वले उद्देश्यविहिन रुपमा मनलाग्दी खर्च गरेको आरोप बारम्बार लाग्ने गरेको थियो ।  

बोर्डका संचालक समितिका सदस्य घनेन्द्र श्रेष्ठका अनुसार टानको खातामा टिम्स बापतको रकम पठाउने भन्ने विषयमा कुनै पनि निर्णय नगरेको यसअघि नै गन्तव्य नेपाललाई जानकारी गराइसकेका थिए । 

त्यस्तै हुदहुद आधी र कर्मचारीलाई तलव भत्ता खुवाउनका लागि आवश्यक रकम भने बोर्ड आफैले दिने तयारी गरिरहेको बुझिएको छ । यस अर्थमा टानको खातामा टिम्स रकम सिधै जाने स्थिति तत्कालको लागि देखिदैन ।

तपाईंको बिचार