Friday, June 23, 2017  |    

गोरु जुधाई हेर्न जाने हैन त ?, सम्पुर्ण तयारी पुरा भयो :आयोजक

प्रकाशित मिति: 2017/01/10

पौष २६, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजले माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुका वडा न ५ चन्दनीको कटहरबोट पाटो तथा रसुवा र नुवाकोटको सिमास्थल बेत्रावतीमा माघ १ गते हुन गईरहेको गोरु जुधाई कार्यक्रमको जानकारी दिने उदेश्यले मंगलबार पत्रकार सम्मेलन गरेको छ । 

सम्मेलनमा समाजका महासचिब शिव अधिकारीले रसुवा र नुवाकोटको गोरुजुधाई कार्यक्रमलाई प्रवद्र्धन गर्नको लागि विगत लामो समयदेखी समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रडक्टको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछानेले रसुृवा र नुवाकोट गोरुजुधाई कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । उहाँले प्रतियोगितास्थलमा जान र आउनको लागि आवश्यक सवारी साधन पनि तय भएको बताउदै यसलाई व्यवस्थीत र मर्यादित बनाउन समाज लागि पर्ने बताउनुभयो ।
त्यस्तै समाजका सल्लाहकार दिपक महतले समाजले गोरुजुधाई कार्यक्रमको सम्बन्धमा खेलेको भुमिकाको प्रशंसा गर्दै यसलाई अझै प्रचारमुखी बनाउँदै स्थानिय स्तरको जिबनस्तरलाई उकास्नको लागि यो मेला महत्वपुर्ण बन्दै गएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिती सदस्य राजेन्द्र सापकोटाले कला र संस्कृतिको प्रचार र प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्ड सधै सकारात्मक र सहयोगी बन्ने बताउनुभयो ।
उहाँले यस बर्षबाट मेलालाई प्रोत्साहन गर्नको लागि बोर्डको कार्यक्रमिक बजेटमै गोरु जुधाई मेलाको लागि बजेट तोकिएको बताउनुभयो ।
एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापाले गोरु जुधाईको सम्बन्धमा पशु अधिकारबादीको कुनै अर्थ नरहेको बताउँदै गोरुले जुध्न पाउने अधिकारको हनन पनि गर्न नहुने बताउनुभयो । 
उहाँले यो सांस्कृतिक पर्वले केही बर्षदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप पाईसकेको सन्दर्भमा मेला आयोजक संस्थाहरुले गोरु जुधाएर धुलो उडाउने मात्र नभई यसलाई व्यवस्थीत गर्नको लागि आवश्यक पूर्वाधार खडा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष दिपेश शाक्य र बेत्रावती मेला व्यावस्थापन समितीका प्रचार प्रमुख ले माघ १ गते हुन गईरहेको गोरुजुधाई कार्यक्रमको सम्बन्धमा ऐतिहासिक पक्षको जानकारी गराउनुभएको थियो ।
समाजका अध्यक्ष बलराम न्यौपानेले मेलालाई भव्य र सभ्य बनाउनको लागि आगामि बर्षहरुमा रसुवा नुवाकोट पर्यटन समाजको भुमिका अझै परिष्कृत हुँदै जाने बताउनुभयो ।
गोरुमेला आयोजना स्थल नुवाकोटको तारुका चन्दनीस्थीत कटहरबोट पुग्न काठमाण्डौको कलंकीबाट २ घण्टाको मोटरबाटोमा पुगिन्छ, भने बेत्रावती पुग्नको लागि ३ घण्टा लाग्छ । कार्यक्रम माघ १ गते बिहान साँढे १० बजेबाट सुरु हुनेछ ।  प्रतियोगितामा गोरु जुध्नका लागि तारुकामा स्थानिय कृषकका १८ हल गोरु तयार छन । रसुवामा १० हल गोरु जृुध्नका लागि तयार रहेको आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार