Monday, May 1, 2017  |    

तामाङ महिलाहरुको प्रतिनिधित्व गर्दै कान्छीमायाले सगरमाथाको आरोहण गर्ने

प्रकाशित मिति: 2017/01/25

माघ १२, काठमाडौँ । बिश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला टेक्ने धेरैको सपना हुने गर्दछ । यद्यपी सबैले यो अवसर प्राप्त गर्दैनन, भने कतिले हिम्मत नै गर्दैनन ।

यस्तोमा तामाङ महिलाको तर्फबाट पहिलोपटक कान्छी माया तामाङले सगरमाथा चढ्ने अन्तिम तयारी गरिरहेको बताएकी छन ।
सिन्धुपाल्चोक जिल्ला भोताङ् गाबिस निबासी २८  बर्षीया तामाङ्ले विश्वको अग्लो शिखर सगरमाथा चढ्न कम्मर कसेकी हुन । 
अहिले सम्म कुनै पनि तामाङ् महिलाले सगरमाथा आरोहण नगरेको हुँदा प्रथम तामाङ् महिलाको कीर्तिमानी राख्ने योजना बनाएको उनको भनाई छ ।
हिमाल आरोहणमा बिशेष रुची भएकाले रक क्लाइम्बिङ तालिम लिई सकेकी उनले गत शरद ऋतुमा मकालु बरुण क्षेत्रमा अबस्थित ६४७० मिटरको मेरापिक हिमालको सफल आरोहण गरिसकेकी छिन ।
यतिखेर काठमाडौँमा उनले साईक्लिङ र रक क्लाइम्बिङ् गर्दै शारीरिक अभ्यासमा निरन्तर ध्यान दिई रहेकी छिन । उनको यो अभियानमा चार पटक विश्व किर्तीमान गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोल्वलिङ्को र विश्व प्रसिद्ध आरोही पेम्बा दोर्जे शेर्पाले आरोहण दलको नेतृत्व समाल्ने छन । 
आरोहण दलको नाम ‘द फस्ट तामाङ् लेडी एभरेस्ट एक्सपिडिसन २०१७’  रहने बताईएको छ ।
यो भन्दा अघि  सन् २००८ मा पनि  पेम्बा दोर्जे शेर्पाकै नेतृत्वमा प्रथम समाबेशी महिला समुहले सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड राख्न सफल भइसकेकाले आफुले पनि सगरमाथाको सफल आरोहण गर्न सक्नेमा आशाबादी रहेको उनको भनाई छ । उनले यो अभियानलाई सफल पार्न सबै व्यक्ति, संघसंस्था र शुभ चिन्तकहरुलाई सहयोगको लागि अपिल समेत गरेकी छिन । 

तपाईंको बिचार