Friday, November 24, 2017

२० वर्षे सवारी विस्थापित गर्ने निणर्य प्रति व्यावसायीको आपत्ति

प्रकाशित मिति: 2017/01/26

सरकार भन्सार कुम्ल्याउन लागिपरेको व्यावसायीको आरोप

नेपाल पर्यटक यातायात व्यावसायी संघ(एनटिभीए)ले सरकारले हचुवाका भरमा २० बर्ष पुगेका पर्यटक सवारी साधन बिस्थापित गर्ने निर्णय गरेको प्रति गम्भिर आपत्ति जनाएको छ ।

व्यावसायीसँग बिनाकुनै छलफल सरकारले सवारीसाधनको वर्षगणनालाई सतही रुपमा बिश्लेषण गरी व्यावसायीलाई आतंकित पार्ने काम नगर्न चेतावनी समेत दिएको छ ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै नेपाल पर्यटक यातायात व्यावसायी संघका महासचिव सन्तोष न्यौपानेले वर्ष गणनाका हिसाबले २० बर्षे गाडि पुराना जस्ता देखिने र बिस्थापित गर्नुपर्ने धारणा आउनु स्वभाबिक भएपनि नेपालमा पर्यटक व्यावसायीहरुले पर्यटक यातायातका रुपमा प्रयोग गर्दै आएका गाडिहरुको बस्तुस्थीति बुझेर मात्र बिस्थापितको योजना बुन्न आग्रह गर्नुभयो ।

नेपालमा हालसम्म कुनैपनि सवारी साधन निर्माण नहुने र सरकार व्यावसायीबाट महंगो कर असुली गर्दै भारतिय गाडि भित्राउन प्रेरित गर्ने सरकारले बिस्थापनको कुरा उठाएर बेतुकको हल्ला गरेको बताउनुभयो ।

उहाँले अहिले पर्यटन बजारमा भएका सबै गाडिहरु जापानिज कम्पनी टोयटा, मिट्सुबिसी लगायतका जापानिज ब्राण्डका गाडिहरु रहेको भन्दै महंगो भन्सार असुल्ने कुनै पनि भारतिय गाडिको आयु २० बर्षे नभएको भन्दै उहाँले सबैलाई एउटै डालोमा हालेर सरकारले सोच्नु गलत हुने  बताउनुभयो ।

नेपालको भौगोलिक स्थीतिसँग मेल खाने गाडि भारतिय कम्पनीबाट उत्पादित गाडिले भेट्न नसक्ने भन्दै वर्तमानमा २० वर्ष पुगेका भनिएका गाडिका लक्जरियस सुबिधा र यसको वातावरणीय प्रभाव मुल्यांकन गर्दा असफल साबित गरेर देखाउन सरकारलाई चुनौति रहेको उहाँको भनाई छ ।

भारतिय नाकाबन्दी र भुकम्पले थलिएको नेपालको पर्यटन बिस्तारै जुर्मुराउन थालेको भएपनि व्यावसायीलाई हत्तोत्साहित गर्नमा सरकार नै उद्धत हुनु पर्यटन क्षेत्रको दुर्भाग्य हुने उहँको भनाई छ ।

बिस्थापित गर्नै हुँदैन भनेर आफुहरुले अड्डी नलिएको भन्दै न्यौपानेले त्यसको उपयुक्त विकल्प तयार गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । नेपालको भुगोल सुहाँउदो फोर ह्वीलर गाडि भारतिय ब्राण्डबाट पुरा नहुने सन्दर्भमा २० वर्षे पुरा भएका सवारीहरुलाई ईन्जिन फेर्ने या त सहुलियत दरमा जापानिज ब्राण्डका गाडि आयात गर्नमा सरकारले सहयोग गर्छ भने आफुहरु छलफल गर्न तयार रहेको व्यावसायीहरुले बताएका छन् ।
अर्कोतर्फ आफुहरुले राज्यलाई निरन्तर रुपमा कर तिर्दै आएको भएपनि सयौ गाडि हरु थुपारेर कर नतिर्ने व्यावसायीहरु पनि पर्यटन क्षेत्रमा देखिएको भन्दै व्यावसायीका बिचमा बिभेद नगर्न समेत उनीहरुले आग्रह गरेका छन ।

ईमान्दार पूर्वक व्यावसायिक कर तिर्नेहरु नै करबिभागका कर्मचारीको निशानामा पर्ने गरेको भन्दै आर्थिक अपचलन गर्नेहरुलाई छुट दिने सरकारको कार्यशैलीप्रति समेत व्यावसायीहरुले आपत्ति जनाएका छन ।
ट्याक्स तिर्नेहरुलाई होईन, नतिर्नेलाई छापा मार्ने या कारबाही गर्नुपर्नेमा कर्मचारीहरु कमिशनको चक्करमा धेरै करतिर्नेहरुको पछि लागेको भन्दै आपत्ति प्रकट गरे ।

तपाईंको बिचार