Monday, October 23, 2017

अब पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा अर्ना हेर्न पाउने

प्रकाशित मिति: 2017/02/08

माघ २६, चितवन । दुर्लभ एकसिंगे गैंडाको मुख्य वासस्थानको रुपमा विश्वमै परिचित चितवन राष्ट्रिय निकुञ्जको पहिचान थप फराकिलो बनेको छ ।

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएपछि यो निकुञ्जमा वन्यजन्तुको प्रजातिसमेत बढेको छ ।

सामान्यतयाः चितवन राष्ट्रिय निकुञ्ज घुम्न चाहने जो कोहीलाई पनि दुर्लभ एकसिंगे गैंडा नै मुख्य आकर्षण हुन्छ । यही गैंडाका कारण चितवन राष्ट्रिय निकुञ्ज विश्वमै वाईल्ड लाईफ पर्यटनको प्रमुख गन्तव्यको रुपमा परिचित छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकले अब गैंडासंगै बाघ, हात्ती मात्रै होइन् दुर्लभ अर्नासमेत हेर्न पाउने भएका छन् । कोसीटप्पु वन्यजन्तु आरक्ष र ललितपुरको चिडियाखानाबाट केही अर्ना स्थानान्तरण गरिएपछि वन्यजन्तुको प्रजाति समेत थपिएको छ । यसले नयाँ स्थानको महत्वसमेत बढाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा अहिले ११ वटा अर्ना ल्याइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

चितवन निकुञ्जमा सन् १९५० र १९६० को दशकमा अर्ना रहेको तर रोगव्याधीले मासिएको अनुमान संरक्षणकर्मीले गरेका छन् । अहिले यो आरक्षमा ३० हेक्टर क्षेत्रफलमा जाली लगाएर खोर बनाई अर्ना राखिएको छ ।

खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर पस्न सक्ने छैनन् भने इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ ।

तपाईंको बिचार