Wednesday, October 18, 2017

भिटोफ-नेपालले पदयात्रा कार्यक्रम गर्ने

प्रकाशित मिति: 2017/02/16

फागुन ५, काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल)ले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक शिवलिंगको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ पदयात्रा कार्यक्रम गर्ने भएको छ । सलाङ होमस्टे धादिङ जिल्लाकै नमूना होमस्टे हो । त्यस्तै सिधा लेक एउटा यस्तो ठाउँ हो, जहाबाट अनेक हिमश्रृंखलाहरुको दृश्यपान गर्न सकिन्छ ।

भिटोफ नेपालले यही फागुन १३ र १४ गते उक्त पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । पदयात्रा कार्यक्रममा सहभागीका लागि हाइकिङ कार्यक्रम, शिवलिंगमा लाग्ने मेला, साँझपख साँस्कृतिक कार्यक्रमको अवलोकन, मगर गाउँको भ्रमण तथा अर्गानिक खानाका परिकारहरुको ब्यबस्था गरिनेछ ।

कार्यक्रममा सरकारी प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकार तथा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहने जनाइएको छ । सलाङमा यस अघि २०७२ बैशाख १२ गते (गोर्खा भूकम्पको समयमा) पनि पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो ।

यसअघि भिटोफ नेपालले भादा होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गरेको थियो । त्यस्तै भिटोफले पोखरा शाखासँगको समन्वयमा दुम्सी दराई होमस्टेमा एक वृहत भेलाको आयोजना पनि सम्पन्न गरेको थियो । अब छिट्टै सोही होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कमल सापकोटाले जानकारी दिनुभयो ।

तपाईंको बिचार