Sunday, March 26, 2017  |    

गन्तव्य नेपालको बार्षिक बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2017/02/22

फागुन ११, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ४/५ लाख पर्यटक मात्र नभई ४/५ करोड पर्यटक भित्र्याउने आकांक्षा राख्नुपर्ने बताएका छन् । 

गन्तव्य नेपालको विशेष कार्यक्रममा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ भन्ने मूल नारामा बोल्दै उनले सो कुरा बताएका हुन् । ठमेलस्थित होटल मनाङमा सञ्चालन गरिएको कार्यक्रममा भारत र चीन छिमेकी मुलुकमा १÷१ अर्बभन्दा बढी जनसंख्या रहेको भन्दै उनले दुवै मुलुकबाट १÷१ करोड मात्र पर्यटक भित्र्याउन सके पर्यटन व्यवसाय फस्टाउने बताए । 
उनले थपे, ‘देश विकास गर्ने प्रमुख आधार भनेको पर्यटन व्यवसाय नै हो ।’
कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा र माओवादी केन्द्र पर्यटन विभाग प्रमुख लोकेन्द्र बिष्टले आर्थिक सम्वृद्विका लागि विगत र वर्तमानलाई समिक्षा गरेर एकताबद्व भएर सबै तहबाट लाग्नुपर्ने बेला आएको बताउँदै आफू र आफ्नो पार्टी त्यसको लागि प्रतिबद्व रहेको बताएका छन् । 
त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्य राजेन्द्र सापकोटा र निट नेपालका अध्यक्ष दिपक महतले पर्यटन नै आर्थिक सम्वृद्विको मुख्य आधार भएकाले सबै मिलेर आर्थिक सम्वृद्विका लागि अघि बढ्नुपर्ने बताए । 
कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा फोहोरी राजनीतिक खिचातानीका बीच पछिल्लो समय बेमेल बढेको बताएका छन् । 
‘पर्यटन क्षेत्रलाई राजनीतिकसँग जोडेर हेरिनुहुँदैन, यो व्यवसाय गर्ने क्षेत्र भएका कारणले गर्दा स्वस्थ प्रतिष्पर्धात्मक रुपमा काम गर्नुपर्नेमा केही व्यावसायीहरुको राजनीतिक कुचक्रले पर्यटनलाई गाँजीरहेको छ,’ उनले भने । 
उनले समग्र पर्यटनको विकास प्रवद्र्धनको लागि राजनीति मुक्त पर्यटन बनाउनुपर्ने र यसमा हामी सबै लागे मात्र यसले मात्र समग्र पर्यटन क्षेत्रलाई सुरक्षित आभास दिलाउने बताए । 
उनले थपे, ‘मुलुकको आर्थिक समृद्धिलाई सार्थकता तुल्याउन तथा दीर्घकालिन पर्यटन योजना नीतिनिर्माण गर्नुपर्ने व्यावसायिक आवाजलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।’ 
‘आर्थिक समृद्धिका लागि पर्यटन’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय पर्यटन व्यवसायी सम्मान, पत्रकार पुरस्कार प्रदान र सामाजिक क्षेत्रमा सक्रिय क्लबहरुलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।
उक्त विशेष कार्यक्रममा पर्यटन व्यवसायीहरु कृष्ण प्रसाद पाण्डे,  दावा छिरि शेर्पा, गीता गुरुङ, विष्णुप्रसाद ज्ञवाली, मनोज कुमार श्रेष्ठ, छिरिङ धोन्डुप, राममणी सापकोटा, शशी लामिछाने, सन्जय पराजुली, पदम आचार्य, भाइकृष्ण खड्का, नवराज श्रेष्ठ, विनोद तिम्लिसिना, रघु चौधरी र धिरज बज्राचार्य सम्मानित भएका थिए । 
त्यस्तै न्यूज२४ का पत्रकार सुजन पन्तलाई पनि पुरसकारसहित सम्मान गरिएको थियो । प्रिन्स अफसेटबाट भीम प्रसाद सापकोटा पनि सम्मान भएका छन् ।
कार्यक्रममा ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) र सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्स (सोट्टो–नेपाल) मा हालै  निर्वाचित भएका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । 
यसका साथै कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय युवा क्लबहरु हाम्रो दान सिंङ युवा क्लव, गुरुजा मेन्डु युवा क्लव र गोरस्याङ गोरखनाथ युवा क्लव, तारुकालाई खेलकुद सामाग्री पनि प्रदान गरिएको थियो । 
कार्यक्रममा नयाँशक्ति नेपाल पार्टीका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, प्रचार विभाग प्रमुख खिमलाल देवकोटा, लगायत पर्यटन क्षेत्रका संघसंस्थाका प्रतिष्ठित व्यक्तित्व, पर्यटन व्यावसायी तथा पत्रकारहरुको उलेख्य सहभागिता रहेको थियो ।

तपाईंको बिचार