Friday, April 28, 2017  |    

जहाज खरिद प्रक्रियामा घोटाला हुने आशंका नगर्न आग्रह

प्रकाशित मिति: 2017/03/05

फागुन २२, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले घोटाला हुने आशंकामा जहाज खरिद प्रक्रिया नरोक्न माग गरेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले २८ वर्षदेखि ठूला विमान थप्न सकेको छैन । तर, पछिल्लो पटक निगमले बाइड बडीका दुई एयरबस खरिद प्रक्रिया अघि बढाएको छ ।

आइतबार संसदको लेखा समितिको बैठकमा सांसदहरुले विना कार्ययोजना एयरबस ल्याउन लागिएको भन्दै आलोचना गरेका छन् । साथै उनीहरुले यसका कारण निगम झनै घाटामा जाने र यो ‘सेतो हात्ती’ पालेजस्तो हुने दाबी गरे । तर, पर्यटनमन्त्री शाही र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले त्यसको खण्डन गरे ।

मन्त्री शाहीले भने, ‘२८ वर्षदेखि वायुसेवा निगमको परिवार नियोजन भएको छ । यसले अहिलेसम्म ठूला जहाज थप्नै सकेको छैन, अनि हामी नाफा किन भएन भनेर मात्रै प्रश्न गर्छौं । नाफा कमाउन त हवाइजहाज थप्न पर्‍यो नि ।’ वायुसेवा निगमले एयरबस थप्न खोज्दा नकारात्मक टिप्पणी मात्रै हुने गरेको उनको भनाइ छ ।

वायुसेवा निगमका महाप्रवन्धक कंशाकार पनि सांसदहरुको दाबीमा सहमत छैनन् । आफूले कार्ययोजना बनाएर विमान थप्न लागेको भन्दै उनले भने, ‘सांसदज्यूहरुले सेतो हात्ती भन्नुभयो । त्यस्तो होइन, यो खैरो हात्ती हो ।’

वाइड बडीका कारण निगम नाफामा जाने दाबी गर्दै उनले यसमा नकारात्मक टिप्पणी गर्न बन्द गर्नुपर्ने बताए । वायुसेवा निगमका महाप्रवन्धक कंशाकारले थपे, ‘यो आफ्नो सीमित स्वार्थको लागि आलोचना भएको हो ।’ निगमलाई नाफामा लैजान विमान थप्न लागिएको भन्दै उनले भने, ‘विमान उडाउने कम्पनीसँग विमान नभए कसरी नाफामा जान्छ । त्यसैले विमान थप्न लागिएको हो ।’

तपाईंको बिचार