Sunday, November 19, 2017

भिटोफको धान रोपाई :बुढिसेराको फेदीमा व्यवसायीको सेल्फी, स्थानियमा हरीयाली

प्रकाशित मिति: 2017/07/02

असार १८, काठमाण्डौ । असार १५, धान दिवसको अवसरमा गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालले नुवाकोटको बुढिसेरामा धान रोपाई महोत्सवको आयोजना गर्दा स्थानियहरुमा निकै उल्लास देखिन्थ्यो ।

पहाडी जिल्ला नुवाकोटमा सँगैको हरियो जंगलको फेदीमा मनमोहक खेतका गराहरुमा बिहीबार स्थानियहरुसँगै काठमाण्डौबाट भिटोफ पदाधिकारीसहित, पर्यटन व्यवसायी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु पञ्चेबाजाका साथ एकसाथ रोपाई कार्यक्रममा सहभागि हुँदा निकै मनमोहक देखिन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथी थिए, पर्यटन सचिव शंकर अधिकारी । त्यसो त काठमाण्डौबाट चिल्ला गाडि र सुकिला कपडामा ठाँटिएर बुढिसेरामा ओर्लदै गर्दा संस्कृति जोगाउने नाममा खुसी खोज्नेहरुको जथ्थाको रुपमा पनि परिभाषित हुन सक्थ्यो ।
तर, जब बुढिसेरामा आगन्तुकहरुले पाईला टेक्नेबित्तिकै कार्ययक्रबारे पूर्व जानकारी पाएका स्थानियहरुले पञ्चेबाजा र स्थानिय घाँसे संस्कृति पस्कदै जब खेतका गराहरुमा धान रोपाईमा एकसाथ सहभागि हुन थाले, तब सबैको मुहारमा एककिसीमको स्फुर्ति छायो । यहीबिचमा मुख बटार्ने व्यवसायीको सेल्फी शैलीमा स्थानियको चरणबद्ध रोपाई छचल्कीरहेको थियो । पर्यटन व्यवसायीहरु हिलो खेल्नमा मस्त थिए भने स्थानियहरुपनि उसैगरी साथ दिईरहेका थिए ।
करिब दिनको साँढे १२ बजेबाट औपचारिक उद्घाटन भएको रोपाई महोत्सव बेलुकी ५ बजेसम्म सञ्चालन भएको थियो । रोपाईमा हौसला थप्न पुगेका व्यवसायी र स्थानियले आगामी बर्षहरुमा बुढिशेरामा रोपाई महोत्सवलाई निरन्तरता दिने समेत बताए ।
रोपाई महोत्सवका बिच औपचारिक कार्यक्रममा बोल्दै पर्यटन सचिव शंकर अधिकारीले कृषि र पर्यटन देशको मेरुदण्ड भएकाले यसलाई परम्परामा मात्र सिमित नराखी नेपालको कृषि संस्कृतिलाई उत्प्रेरित गर्न आफु लागि पर्ने बताए । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)नेपालका अध्यक्ष कमल सापकोटाले नेपालको ग्रामिण पर्यटनमा भिटोफले महत्वपुर्ण भुमिका खेलेको भन्दै रोपाई संस्कृतिको रक्षा र प्रवद्र्धन गर्न आफु लागिपरेको बताउनुभयो ।

गाँउ पर्यटन प्रवद्र्धन मञ्च( भिटोफ) नेपालका महासचिव बासु पाण्डेले रोपाई संस्कृति नेपालीहरुको जनजिबिकासँग जोडिएको भन्दै संस्कृतिलाई बचाउन तथा स्थानिय कृषि क्षेत्रको बिकासमा आफुहरु सधै लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी र बिभिन्न संघसंस्थाका प्रतिनिधी लगायत ६ सय जनाको उपस्थीति रहेको थियो ।

तपाईंको बिचार