Saturday, November 18, 2017

पर्यटन प्रबेश शूल्क उठाउने खुम्बु गाउँपालिकाको निर्णयको चौतर्फि विरोध

प्रकाशित मिति: 2017/09/16

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिकाले छुटै पर्यटन प्रवेश शूल्क उठाउने निर्णयको  चौतर्फी विरोध भएको छ । गाँउपालिकाले एक सूचना जारी गरि खुम्बु पासाङल्हामु गाँउपालिका प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकलाई प्रत्येक पटक प्रवेश गरे वापत दुई हजार रुपैयाँ प्रवेश शूल्क लिने निर्णय गरेको जानकारी दिएको छ । 

सो निर्णय आउँदो असोज १५ अर्थात अक्टुबर १ देखि लागु गर्ने गाउँपालिकाले जनाएको छ । यो सूचना प्रकाशन भएसँगै पर्यटन व्यवसायीहरुले त्यसको खुलेर विरोध गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एसोसिएसन फ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा), , नेपाल एसोसिएसन अफ ¥याफिटिङ एजेन्ट्स (नारा), टुरिष्ट गाइएड एसोसिएसन अफ नेपाल (टुर्गान), सोसाइटी अफ टुर एन्ड ट्राभल एजेन्टस् (सोट्टो नेपाल) लगायतका व्यवसायीक संघ संस्थाका साथै विभिन्न पार्टीमा आवद्ध व्यवसायीहरुको संस्थाले पनि यसरी शूल्क असुलेर संघीयताको नाममा लुट मच्चाउन खोजिएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

यसलाई तत्काल नरोक्ने हो भने भोलीका दिनमा क्रमश : अन्य गाँउपालिकाले पनि यस्तै शूल्क उठाउन थाल्ने भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । सरकारले छुटै रोयल्टी उठाइरहेको सन्दर्भमा यसरी गाउँपालिका पिच्छै शूल्क उठाउन थाले व्यवसाय धान्ने नसक्ने उनीहरुको गुनासो छ । व्यवसायीले आफुहरुको आग्रहलाई कमजोरी ठानी खुम्बु गाँउपालिकाले सो निर्णय नसच्याए खुम्बु क्षेत्र नै ठप्प पर्ने चेतावनी समेत दिएका छन् । 

 

तपाईंको बिचार