Saturday, November 18, 2017

शुल्क अशुल्ने निर्णय गलत छ : स्थानिय विकास सचिव थपलिया

पासाङ ल्हामुको निर्णय विरुद्ध उत्रिए व्यवसायी
प्रकाशित मिति: 2017/09/22

काठमाडौं । प्रदेश नं १ अन्तर्गत सोलुखुम्बूस्थित खुम्बू पासाङल्हामु गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र प्रवेश गरेबापत प्रतिविदेशी पर्यटक रु दुई हजार असुल गर्ने निर्णयको पर्यटन व्यवसायीले विरोध जनाएका छन् ।

गाउँपालिकाको गैरन्यायिक निर्णयले समग्र पर्यटन व्यवसायलाई धरापमा पार्ने भन्दै उक्त निर्णयका विरुद्ध सम्पूर्ण व्यवसायी एकताबद्ध ढङ्गले लाग्नुपर्नेमा जोड दिएका थिए । 
नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल)ले सोमबार पर्यटन बोर्डमा सरोकारवाला निकायसँग गरेको छलफलमा गत असार २५ गते खुम्बू गाउँपालिकाको बैठकले गरेको सो निर्णय आँफुहरुलाई मान्य नहुने वताएका हुन । 

कार्यक्रममा नेपाल पर्यटन व्यवसायि संघ (निट) का अध्यक्ष दिपक महतले नेपालको पर्यटन व्यवसाय धराशयी बनाउने कुनै पनि प्रकारको निणर्यहरु आँफुहरुलाई मान्य नहुने वताए । ‘एउटा गाउँपालिकाले नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालमा आएको टिम्सलाई चुनौति दिनु भनेको पुच्छरले जिउ चलाउने दुस्साहस हो’–महतले भने । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले सवै गाउँपालिकाले पर्यटक संग दुई दुई हजार रुपैयाँ उठाउने हो भने ट्रेकिङ कम्पनीहरु बन्द गर्नुपर्ने वताउँदै प्रदेश र संघले पर्यटन गुरुयोजना निर्माणमा ध्यान दिनुपर्ने तर पर्यटक संग शुल्क असुल्ने अधिकार दिन नहुने वताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले टिम्सका वारेमा व्यवसायिहरुमा फरक मत रहेका कारण पनि यो समस्या आएको वताए । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डेले टानले गाउँपालिकाको पत्र पाउनासाथ सो विषयमा छलफल चलाउन आवश्यक रहेकोमा त्यसो हुन नसकोको वताए ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव मोहन लम्सालले यसरी गाउँपालिकाहरुले पर्यटकहरु संग पैसा असुल्दै जाने हो भने नेपाल महँगो प्याकेज लिएर विश्व पर्यटन वजारमा जान नसक्ने भन्दै संविधान संसोधन गरेर भएपनि यो विषयको समाधान खोज्नुपर्ने वताए । त्यस्तै नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहालले यो निर्णय लागु भए पदयात्रा पर्यटन व्यवसाय धरापमा पर्ने वताए । कार्यक्रममा युवा पर्यटन व्यवसायि राजन सिंखडाले पर्यटन पूर्वाधार निर्माणको विषयमा समग्र पर्यटन क्षेत्र एक नभए सात लाख भन्दा वढि पर्यटक नेपाल ल्याउन मुस्किल पर्ने वताए ।

छलफल कार्यक्रमको अन्त्यमा बोल्दै पर्यटन विभागका निर्देशक सविन ढकालले यो समस्या संघियतामा जाँदाको संक्रमणकालिन समस्या भएको वताए । उनले संविधानले स्थानिय निकायले पर्यटक सेवा शुल्क उठाउने अधिकार दिएको भन्दै पर्यटन व्यवसायको दृष्टिकोणले यो उपयुक्त नभएका कारण पर्यटन शुल्क कुन निकायले उठाउने भन्ने विषयमा छलफल गर्न जरुरी रहेका वताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व उपाध्यक्ष तथा निटका उपाध्यक्ष केशव पाण्डेले यो विषयले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दिर्घकालिन असर पार्ने भन्दै यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको कारण निटले अग्रसरता देखाएको वताए ।

खुम्बू गाउँपालिकाले खुम्बू गाउँपालिकाभित्र प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकलाई प्रत्येक पटक प्रवेश गरेबापत रु दुई हजार शुल्क लिने भनी गत असार २५ मा बसेको गाउँपालिका बैठकले निर्णय गरेको हँुदा आगामी असोज १५ देखि उक्त शुल्क असुल गरिने व्यहोराको सूचना प्रकाशित गरेको थियो ।

निटले गरेको विरोध कार्यक्रम पश्चात स्थानिय विकास सचिव दिनेश थपलियाले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै पासाङल्हामु गाउँपालिकले गरेको निर्णय तत्कालको लागि गलत रहेको बताउनु भयो । उहाँले गाउँपालिकाको विधि विधान बन्ने क्रममा रहेको बताउँदै गाउँपालिकाको नाममा पर्यटक शुल्क उठाउन नमिल्ने बताउनु भयो । विधि विधान बनिसकेपछि कानुनत चल्ने हो । कानुन कस्तो बन्छ त्यही अनुसार सबै जानु पर्ने हुन्छ । अहिले नेपाल पर्यटन ऐन अनुसार चल्नु पर्ने प्रतिक्रिया दिनुभयो ।

तपाईंको बिचार