Saturday, November 18, 2017

कानुनी अड्चनको मारमा पर्यटक यातायात व्यवसायी

रुट परमिटको व्यवस्था तत्काल खारेज गर्न माग
प्रकाशित मिति: 2017/09/22

काठमाडौं । पर्यटक यातायात व्यवसायीहरुले सरकारले पछिल्लो समय सिन्डीकेटलाई प्रसय दिने गरि पर्यटक सवारीलाई रुट परमिटको व्यवस्था गरेको भन्दै त्यसको विरोध जनाएका छन् । आन्तरिक एवं बाह्य दुबै पर्यटक सवार पर्यटकीय सवारी साधनलाई मुलुकभर निर्वाध चल्न पाउने व्यवस्था भएपनि  सो व्यवस्था उल्लंघन गर्दै जारी गरिएको रुट परमिटको  व्यवस्था तत्काल खारेजीको माग व्यवसायीले राखेका छन् ।  

पर्यटक यातायात व्यवसायी एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पर्यटक ऐनमा भएको व्यवस्थाहरुलाई समेत वेवास्ता गर्दै सरकारले रुट परमिटको विषय उठाएर पर्यटक यातायात व्यवसायीलाई दुःख दिने काम गरेको गुनासो गर्नुभयो । उहाँले सरकारको यस्तो कार्यले पर्यटक सवारीलाई समस्या पर्ने मात्र नभई हटिसकेको सिन्डीकेट प्रथालाई समेत थप प्रसय दिएको बताउनु भयो । 

नेपालको पर्यटन विकासमा पर्यटक सवारीले पु¥याएको योग्दानलाई नभूल्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै पछिल्लो समय आन्तरिक पर्यटकलाई पर्यटक नै होइन भनी समस्या दिने काम भएको पनि उहाँले बताउनुभयो । 

‘एकातिर सरकार आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घुमफिर वर्ष लगायत विभिन्न वर्षहरु मनाउने तर पर्यटकीय सवारीमा आन्तरिक पर्यटक बोक्यो भने समस्या दिने काम गर्नु राम्रो होइन, उनले भने सरकारको यस्तै हर्कत जारी रहे हामी अव चुप लागेर बस्न सक्ने अवस्था छैन ।’  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ (झ) र दफा ७ मा विदेशी पर्यटक सवारी भन्नाले हरियो नम्बर प्लेटको सवारी साधनलाई मात्र सम्झनु पर्दछ भनेर परिभाषित गरिएको छ । त्यस्तै पर्यटन ऐन २०३५ को दफा २ (क) ले पर्यटक भन्नाले विदेशी मुलुकका नागरिक र गैरनेपाली भन्ने छ  र नेपाली पर्यटक भन्नाले नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नागरिक भनेर बुझ्नु पदर्छ भनेर उल्लेख गरिएको छ । 

व्यवसायीहरुले पर्यटक ऐन अनुसार पर्यटकलाई निर्वाध सेवा दिन पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सवारी ऐन अनुसार विदेशीलाई मात्र पर्यटक भन्ने हो भने स्वदेशमा पर्याप्त पर्यटक भित्रिन नसकेको खण्डमा हरियो नम्बर प्लेटका सवारी साधान बन्द गर्नुपर्ने बाध्यता रहने शर्माले बताउनुभयो । 

व्यवसायीहरुका अनुसार हाल कम्पनीहरुको मात्र साना ठुला गरि तीन हजारको हाराहारीमा हरियो नम्बर प्लेटका सवारी साधान संचालनमा रहेका छन् । त्यस्तै एक हजारको हाराहारीमा नीजि सवारी संचालनमा रहेका छन् । जसबाट करिब २५ अर्व रुपैयाँ भन्दा माथिको लगानी रहेको छ भने हजारौले यस क्षेत्रमा रोजगारी पाइरहेका छन् । 

मनोमानी रुपमा एकपक्षीय कुरामात्र सुनेर निर्णयहरु गर्ने र त्यसलाई लाद्ने कार्य सरकारले गरेको भन्दै उनीहरुले यस्तो कार्य नरोकिए भोलीका दिनमा पर्यटन क्षेत्रनै ध्वस्त हुने तर्फ संकेत गरेका छन् ।

तपाईंको बिचार