Thursday, November 23, 2017

खुम्बु पासाङल्हामु गाँउपालिकाले लगाएको प्रवेश शूल्क अब रोकिने

प्रकाशित मिति: 2017/10/06

काठमाडौं ।  गत अक्टुबर एक तारिख देखि सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिकाले विदेशी पर्यटकसँग उठाउदै आएको प्रवेश शूल्क अव रोकिने भएको छ । व्यवसायीहरुको व्यापक विरोधका बीच पनि गाँउपालिकाले एकल निर्णयमा गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रतिपर्यटक दुई हजार रुपैयाँका दरले प्रवेश शूल्क उठाउन थालेको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन भनि आज स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेसँगै पर्यटन प्रवेश शूल्क उठाउने कार्य रोकिने निश्चित भएको हो । 

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले शूल्क उठाउने सो काम तत्काल कार्यान्वयन नगर्न स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेको कारण अव सो कार्य रोकिने बताए । उनले गाउँपालिकाले  आफुखुसी गरेको सो निर्णयले पर्यटन क्षेत्रमा आतंक फैलिएको बताए । 

त्यस्तै स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले गन्तव्य नेपाल न्यूजसँग एक संक्षिप्त कुराकानी गर्दै पर्यटन मन्त्रालयबाट शुल्क रोक्ने सिफारिस पत्र प्राप्त नभएको कारण उक्त काम रोक्न ढिलाई भएको बताए । उनले पर्यटन मन्त्रलायले आज पत्र पठाएको भन्ने जानकारी आफुले पाएको भन्दै पत्र प्राप्त भएपछि तत्काल सो काम रोक्ने प्रतिक्रिया दिए ।  विधि र विधान विपरित अनावश्यक काम गरेर आतंक फैलाउने काम नगर्न पनि सचिव थपलियाले सबै गाँउपालिका प्रमुखहरुलाई आग्रह समेत गरेका छन् । तत्कालको अवस्थामा गाउँपालिकाले शुल्क उठाउनु भनेको अबैधानीक कार्य हो । खुम्बु गाउँपालिकाले राज्यको नीति नियम विपरित कार्य गरेको छ यो राम्रो होइन । स्थानिय निर्वाचन सम्पन्न भएसँगैै गाउँपालिकालगायतको नीति नियमहरु बन्ने प्रक्रियामा छन् । त्यसपश्चात गाउँपालिकाको अधिकार क्षेत्र सिमा निर्धारण हुन्छ त्यहि अनुसार गाउँपालिका चल्नु पर्छ उनले भने । 

सो निर्णय कार्यान्वयन गरेसँगै गाउँपालिकाले वषौ देखि कार्यान्वयनमा आएको टिम्स कार्ड समेत रोकिदिएको थियो । 

 

तपाईंको बिचार