Thursday, November 23, 2017

‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’ सुमन पाण्डेलाई

तत्कालिन र दीर्घकालिन गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड
प्रकाशित मिति: 2017/10/17

काठमाडौं । पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । पर्यटन प्रवद्र्धन विकासका लागि अतुलनीय योगदान पुर्‍याएको भन्दै मंगलबार होटल मनाङमा सम्पन्न गन्तव्यन्युज डट कमको चौथो वार्षिकोत्सव समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पाण्डेलाई सो अवार्ड प्रदान गर्नुभएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्बृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । पर्यटन, कृषि, उर्जा र जडिबुटी सम्बृद्धिका खम्बा भएको उल्लेख गर्दै उहाँले विकासका लागि तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले नेपालको सबै गाउँहरु पर्यटकीय हिसाबले महतत्वपूर्ण रहेकोले त्यसलाई पर्यटकीय प्रडक्टको रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण सम्भावनाहरुको पहिचान र प्रवद्र्धन हुन नसकेको दृष्टान्त प्रस्तुत गर्दै त्यसलाई चिरेर नयाँ गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनमा ध्यानकेन्द्रित गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

‘संविधान कार्यान्वयनको शिलशिलामा स्थानीय तहको निर्वाचन सम्पन्न भई मुलुक संघ र प्रदेशको निर्वाचनतर्फ केन्द्रित भइरहेको छ’ उपराष्ट्रपति पुनले भन्नुभयो –‘योसँगै अब हामी स्थायित्वतर्फ अघि बढेका छौं । सकारात्मक सोचका साथ सम्बृद्धिका निम्ति सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।’
सम्मान ग्रहण गर्दै पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनमा सिर्जनात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । नेपाललाई सम्बृद्ध बनाउने माध्याम पर्यटन उद्योग भएको भन्दै यसको बृद्धि विकासमा राज्यस्तरबाट थप नयाँ योजना तथा कार्यक्रम ल्याउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

पूर्व सांसद जगदिशनरसिंह केसीले नयाँ गन्तव्यहरुको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसका निम्ति सरकार र निजी क्षेत्रबीच साझेदारी रहनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहालले नेपाल घुम्ने पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि समय सापेक्ष हुन नसकेको भन्दै त्यसलाई पूर्ति गर्नका निम्ति राज्यस्तरबाट पहल गरिनुपर्ने बताउनुभयो ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपालले विगत डेढ दशकदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पर्यटन विकासका लागि केन्द्रीय स्तरबाट निश्चित लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा पर्यटन व्यवसायी लोक प्रसाद दाहाल, अनिल लामा, चिरञ्जिवी भट्ट, राजेन्द्र अधिकारी, गिता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरी अधिकारी, राजन थापा र मोतिराम ढकाललाई पनि सम्मानित गरिएको थियो ।

 

 
 

तपाईंको बिचार