Saturday, November 18, 2017

टानको ३९औ महाधिवेशन राजधानीमा सुरु

प्रकाशित मिति: 2017/10/29

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को महाधिवेशन आजबाट राजधानीको होटल ह्यातमा सुरु भएको छ । टान ट्रेकिङ व्यवसायीहरुको छाता संगठन हो ।

आइतबार बिहान पर्यटन सचिव महेश्वर न्यौपानेले राजधानीको हायात होटलमा टान महाधिवेशनको उदघाटन गरेका हुन् । कार्यक्रमलाई उद्घाटन गर्दै सचिव न्यौपानेले विभिन्न गाउँपालिकाहरुले पर्यटन प्रवेश शुल्कको नाउँमा उठाउने कामलाई मनपरीतन्त्र र अराजकताको संज्ञा दिए । यो समस्या समाधानका लागि पर्यटन मन्त्रालय गम्भिर रुपमा लागि परिरहेको उल्लेख गर्दै उनले यसको निश्चित कार्यविधि बनाएर एकद्धार प्रणालीमार्फत समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।

खर्चको सहि व्यवस्थापन गर्न नसक्दा टिम्स समस्यामा समस्या उत्पन्न भइरहेको भन्दै टान नेतृत्वले यसलाई गम्भिर रुपमा मनन गर्नुपर्नेमा पनि सचिव न्यौपानेले जोड दिए ।

सो अवसरमा विभिन्न विधाबाट पर्यटन प्रवद्र्धन र विकासमा योगदान पुर्याउने व्यक्ति तथा कम्पनीलाई पुरस्कृत गरिएको थियो ।

महाधिवेशनले नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णयहरु गर्नेछ । उदघाटन सत्रपछि हुने बन्द सत्रमा महासचिव कर्ण लामाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिलाबल्दव दाहालको आर्थिक प्रतिवेदन पारित हुनेछ ।

८ पदाधिकारी र ९ सदस्यसहित कूल १७ पदका लागि आजै निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार दिनको १ बजे देखि ५ बजेसम्म मतदान जारी रहनेछ ।

पर्यटन व्यवसायीहरुको छाता संगठनको नेतृत्व हत्याउनका लागि वाम र लोकतान्त्रिक समूह आ–आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहतर्फबाट मोहन लम्साल उम्मेदवार बनेका छन् भने वाम गठबन्धनको तर्फबाट नवराज दाहाल अध्यक्षका उम्मेदवार रहेका छन् । 

तपाईंको बिचार