Saturday, November 18, 2017

पर्यटन विभागले औपचारिक रुपमा अनलाइन सेवा सुरुवात गर्‍यो

प्रकाशित मिति: 2017/11/01

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले अनलाईनबाट आफ्नो सेवा सुरु गरेको छ ।  बुधबार विभागद्धारा नेपाल पर्यटन बोर्ड हलमा आयोजित एक विशेष कार्यक्रमबीच पर्यटन सचिव महेश्वर न्यौपानेले उक्त अनलाइन प्रणालीको औपचारिक उद्घाटन गर्नुभयो ।

विभागले इन्टरनेशनल फाइनान्स करर्पोरेशन (वल्र्ड बैंक ग्रुप)सँगको सहकार्यमा तयार पारिएको ‘अनलाईन सिस्टम फर टुरिजम सर्भिस डेलिभरी इन नेपाल’ नामको सफ्टवेयरबाट अनलाइन सेवा प्रदान गर्न सुरु गरेको हो । सफ्टवेयरको औपचारिक उद्घाटन गर्दै पर्यटन सचिव न्यौपानेले अनलाइन सेवाबाट सेवा प्राप्त गर्ने पहिलो सेवाग्राहीको रुपमा फ्लाइट ट्रयाकर ट्राभल्स एण्ड टुर्स प्रालिलाई इजाजत पत्रको प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।

अब सेवाग्राहीको पहुँच विस्तार गर्ने, सरकारका काम कारबाहीलाई पारदर्शी बनाउने, सेवाग्राहीलाई कार्यलयसम्म आई सेवा लिनुपर्नेपर्ने झन्झटबाट मुक्त गरी कर्मचारी र कार्यलयप्रति रहेको सेवा ग्राहीको गुनासो न्यूनिकरण गर्दै सार्वजनिक सेवामा जनविश्वास अभिबृद्धि हुने विश्वास विभागले लिएको छ ।

तत्काललाई सफ्टवेयरको प्रयोगसँगै भौतिक फाइललाई पनि कार्यान्वयनमा ल्याइने र निश्चित समयपश्चात भौतिक फाइलको प्रयोगविनाने विभागका सम्पूर्ण सेवाहरु अनलाइन प्रणालीमार्फत सञ्चालन गरिने पर्यटन विभागका महानिर्देशक दिनेश भट्टटाराईले बताउनुभयो । भट्टराईले अनलाइन प्रणाली लागु भएपछि पर्यटन क्षेत्रका सेवाग्राहीहरुले भोग्दै आउनुपरेको सबैखालका समस्याहरुको स्वतः समाधान हुनेसमेत बताउनुभयो । यो सेवालाई व्यवसायी र व्यवसायमैत्री बनाउनका लागि विभाग सदैव तल्लिन रहने उल्लेख गर्दै उहाँले यसकै माध्यमबाट कर्मचारीतन्त्रबाट ढिलासुस्ती र अनियमितता हुने गुनासो हट्नुका साथै सेवाग्राहीबाट हुने कमीकमजोरीमा पनि सुधार आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पर्यटन सचिव न्यौपानेले पर्यटन सेवालाई अनलाईन प्रणालीमा सञ्चालन गर्नु अत्यान्तै खुशी र आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै यसलाई समयसापेक्ष परिमार्जन गरेर बढि भन्दा बढि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । अनलाइन प्रणाली लागु हुनेवित्तिकै सबै समस्या समाधान भयो भन्नु गलत भएको भन्दै उहाँले यसलाई चुस्त र दुरुस्त बनाउनका लागि आवश्यक पर्ने नियम÷कानुनको व्यवस्था गर्न मन्त्रालयको तर्फबाट आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

इन्टरनेशनल फाइनान्स करर्पोरेशनका प्रतिनिधि राइनाले यो नेपालको पर्यटन क्षेत्रकै लागि एउटा नयाँ आयम भएको भन्दै यसको थप विस्तार र प्रभावकारिताका लागि आफ्नो तर्फबाट सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

विभागले दिदै आएको सम्पूर्ण इजाजत सम्बन्धि, पर्यटनसँग समबन्धित विभिन्न तथ्यांकहरु, अहिलेसम्म प्रकाशित सामाग्रहीहरु सोही अनलाइन प्रणालीमा अपडेट गरिने छ भने विभागको वेवसाइटलाई पहिलाको भन्दा राम्रो गरिनेछ । विभागले अनलाइन सुविधा प्राप्त गर्न इजाजत लिएका सम्बन्धित सेवाग्राहीहरुले यस विभागमा निवेदन दिएर युजर नेम र पासवर्ड लिनुपर्ने भएकोले इच्छुक सेवा ग्राहीहरुलाई सम्पर्क गर्न आह्वानसमेत गरेको छ ।

तपाईंको बिचार