Friday, January 19, 2018

लुम्बिनी आउने पर्यटकहरुलाई आवागमन सहज बनाउन माग

प्रकाशित मिति: 2017/12/03

काठमाडौं । भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको संख्या बढाउन बिभिन्न गन्तव्यसंग यातायात संजाल बढाउन र नेपाल(भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन् ।

एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले लुम्बिनीमा आयोजित अन्तरक्रियामा बोल्दै उनीहरुले दुवै देशले सीमामा पर्यटकहरुको आवागमन सहज बनाउन आबश्यक कदम चाल्नुपर्ने बताए ।

“नेपालतर्फ पर्यटक प्रहरी खटाइएकोले अलि सजिलो छ । तर भारततर्फ पर्यटकहरुलाई धेरै झमेला छ । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनेपछि नेपालबाट भारतका बौद्ध तिर्थस्थलहरुमा जाने पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुँदा यस्ता कुरालाई बेलैमा सल्ट्याउनुपर्छ,” एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स का नेपाल संयोजक रबिन्द्र शर्माले बताए ।

एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स बौद्ध पर्यटनमा आबद्ध पर्यटन ब्यबसायीहरुको प्रतिनिधित्वमुलक संस्था हो । बिहार, भारत, मा मुख्यालय रहेको यस संस्थाको नेपाल लगायतका देशहरुमा शाखा छन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर होटल संघका सल्लाहकार चेतन पन्तले नेपाल र भारत मिलेर दुवै देशमा रहेका मुख्य बौद्ध तिर्थस्थल जोड्ने रेलसेवा शुरु गर्नुपर्ने बताए । 

सन् २०१६ मा १३६,२५३ बिदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो संख्या लुम्बिनी जस्तै भारतमा रहेका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध तिर्थस्थलहरु पुग्ने बिदेशी पर्यटकहरुको संख्याको तुलनामा निकै कम हो । धेरै जस्तो लुम्बिनी आउने बिदेशी पर्यटक भारत हुँदै आउँछन् ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघका रामकुमार शर्माले नेपालले भारतीय रेल सेवा लुम्बिनीसम्म ल्याउन आबश्यक पहल गर्नुपर्ने बताए । “चीनले लुम्बिनीसम्म रेलसेवा बिस्तार गर्ने कुरा गरिरहँदा भारतले पनि आफ्नो रेलसेवा लुम्बिनीसम्म लेराउंछ भन्नेमा हामि आशावादी छौं,” शर्माले बताए ।

सिद्धार्थनगर होटल संघका अध्यक्ष सीबी श्रेष्ठले पर्यटकहरुको लागि आरामदायी बसाई र आवागमनको सहजताले ठुलो अर्थ राख्ने भन्दै, सरकारले यथोचित पूर्वाधार बिकास गरिदिए निजीक्षेत्रले पर्यटकहरुको आरामदायी बसाइको जिम्मा लिने बताए ।  

एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सका माहासचिब कौलेश कुमारले अन्तरक्रियामा उठेका सुझाबहरुलाई आफुले भारत सरकारको सम्बन्धित निकाय समक्ष उठान गर्ने बताए ।

कार्यक्रममा सिद्धार्थनगर एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, सिद्धार्थनगर होटल तथा रेस्टुरेन्ट संघ, सिद्धार्थनगर यातायात समिति, नेपाल(भारत मैत्री समाज, बेलहिया लगायतका संस्थाहरुको प्रतिनिधिको उपस्थिति थियो । 

तपाईंको बिचार