Sunday, April 22, 2018

नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा

प्रकाशित मिति: 2017/12/12


काठमाडौं, २६ मंसिर । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को नयाँ नेतृत्व चयनका लागि आगामी जनवरीमा हुन लागिरहेको निर्वाचनमा अध्यक्षका लागि बरिष्ठ पर्यटन व्यवसायी  अच्युत गरागाईले उम्मेद्धारी घोषणा गरेका छन् । सि एण्ड स्काई टुर्स एण्ड ट्राभलका सञ्चालकसमेत रहेका गुरागाईले उम्मेद्धारी घोषणा गर्दै नाट्टा हाक्न सक्ने व्यवसायिक टिम बनाएर अघि बढ्ने पनि बताएका छन् । 
सम्बृद्ध नाट्टाको लागि आफ्नो उम्मेद्धारी जरुरी रहेको गुरागाईको दाबी छ । नाट्टामा सम्बद्ध अग्रज, विज्ञ तथा सदस्यहरुलाई सहयोगको लागि आग्रहसमेत उनले गरेका छन् । सन् १९९९ मा नाट्टामा प्रवेश गरेका गुरागाई सन् २००७ देखि २००९ सम्म कार्यसमिति सदस्य तथा नाट्टा मेम्बरशिप चियरमेन भए भने २००९ देखि २०११ सम्म सचिव, २०११ देखि २०१३ सम्म महासचिवको रुपमा सफल जिम्मेवारी बहन गरिसकेका छन् । १९९२ देखि टुर अपरेटरको रुपमा स्टुडेन्ट ट्राभल्सबाट पर्यटन यात्रा सुरु गरेका उनले आरआर क्याम्पसरबाट अंगे्रजीमा मास्टर्स डिग्री गरेका छन् । 
गुरागाईले आफ्नो चुनावी एजेण्डाका रुपमा नाट्टालाई संघीय ढाँचामा रुपान्तरण गर्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने, आएटासम्बन्धि विद्यमान समस्यालाई समयसापेक्ष फास्ट ट्रयाकमा लैजाने, टुर अपरेटरहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरुलाई तीब्रता दिनेलगायतलाई प्राथमिकतामा राखेका छन् । 
त्यसैगरी पर्यटन क्षेत्रको समस्याको रुपमा लामो समयदेखि जगडिदै आएको टुरिष्ट बसपार्क सम्बन्धित सरोकारावाला तथा  नियमन निकायसँग सहकार्य गरी बनाएरै छाड्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् भने देशभरीका दुर्गम क्षेत्रहरुको पर्यटकीय सम्भावनाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने तथा लामो समयदेखि नाट्टाको पाइपलाइनमा रहेका कामहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नेलगायतका एजेण्डाका साथ आफुले उम्मेद्धारी घोषणा गरेको बताएका छन् ।   

 

तपाईंको बिचार