Monday, April 23, 2018

पर्यटक शुल्कको नाउँमा मनपरी गर्ने क्रम बढ्यो

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै गठन भएका संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहले आफ्नो क्षेत्रमा प्रवेश गर्ने पर्यटकसँग मनोपोली शूल्क उठाउन थालेपछि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको थियो । गत कात्तिक महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालको संविधान, स्थानीय तह ऐन र आन्तरिक वीत्त व्यवस्थापन ऐन बमोजिम भौतिक सिमा प्रवेश गरेबापत शूल्क, दस्तुर लिन नपाउने भएको भन्दै सरकारले त्यस्तो निर्देशन गरेको थियो । तर त्यो समस्या अहिले झन झन बढ्दै गइरहेको छ ।  

स्थानीय तहमध्ये सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाँउपालिका र भक्तपुरको चागुनारायण नगरपालिकाले अहिले पनि पर्यटकसँग प्रवेश शूल्क उठाइरहेको छ । राज्यको निर्देशनलाई समेत अटेर गरी पर्यटक प्रवेश शूल्क उठाएको भन्दै पर्यटन व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । गाउँपालिकाले अहिलेसम्म लागु हँुदै आएको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई बहिस्कार गरेर प्रवेश शुल्क उठाउन थालेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पत्राचार गर्दा पनि यो कार्य नरोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालययले दुबै गाँउपालिका र नगरपालिकाका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएको थियो । तर उनीहरुले उक्त निर्देशन अहिलेसम्म पनि पालना नगरेका हुन् । 

गाँउपालिकाले राज्यको निर्देशन नटेरेकोप्रति ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल आपत्ति जनाउनुहुन्छ । राज्यको आदेश नमान्नु भनेको राज्यविरुद्ध लाग्नु सरह भएको भन्दै त्यसलाई तत्काल रोक लगाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘एउटा सरकारी निकायले सरकारको निर्देशनलाई खिल्ली उडाउदै सडकमै ढाट राखेर रकम संकलन गर्ने हो भने नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जान्छ’ अध्यक्ष दाहाल भन्नुहुन्छ ‘त्यत्तिमात्रै नभएर हाम्रा पर्यटकीय गतविधिहरु समेत महंगिनेछन् । तसर्थ, यस्ता कार्य तत्काल रोक्नुपर्दछ ।’  

बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले पनि सो कार्यको खुलेर विरोध गर्नुभएको छ । उहाँले राज्यको कानुन सबैलाई सम्मान हुनुपर्ने भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो । अटेर गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै सरकार अझै मौन बसे त्यसविरुद्ध आम पर्यटन व्यवसायीहरुले कडा प्रतिवाद गर्ने चेतावनीसमेत उहाँले दिनुभयो । राज्यको निर्देशनसमेत पालना नगर्ने हो भने भोलीको दिनमा अन्य स्थानीय तहले पनि शूल्क उठाउन थाल्ने र त्यसले नेपालको पर्यटन क्षेत्रमा ठुलो दुर्घटना निम्तिने पनि ठम्याई उहाँको छ । 

चागुँनारायणले विदेशी पर्यटक शूल्कवापत प्रति पर्यटक तीन सय रुपैयाँ बढाउने गरेको छ भने खुम्बु पासाङल्हामुले प्रति विदेशी पर्यटक दुई हजार रुपैयाँ दरले प्रवेश शूल्क उठाउँदै आइरहेको छ । गत असोज १५ गतेदेखि शूल्क उठाउन थालेको उक्त खुम्बु पासाङल्हामु गाँउपालिकाले हालसम्म २२ हजार ३ सय ५८ जना पर्यटकसँग चार करोड ४७ लाख १६ हजार रुपैयाँ शूल्क उठाइसकेको छ । 

यस वर्षको पर्यटकीय सिजन सकिएपनि सो क्षेत्रमा अहिले पनि दैनिक एक सय भन्दा बढी पर्यटक घुम्नका लागि आइरहेको गाउँपालिकाले जनाएको छ । 

तपाईंको बिचार