Monday, September 24, 2018

नाट्टा अध्यक्षका प्रत्यासीद्वय पाण्डे र गुरागाँईद्वारा गैरराजनीतिक टिम बनाउने उद्घोष

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । टूर र ट्राभल व्यवसयीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को  ५१औं वार्षिक साधारण सभा तथा निर्वाचन मिति आँउदो पौष २८ गतेका लागि घोषणा गरिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । आगामी अध्यक्षका लागि सि एन स्काई टूर्सका सञ्चालक अच्युत गुरागाई र सम्राट टूर्स एन्ड ट्राभल्सका सञ्चालक सिएन पाण्डेको नाम पर्यटन बजारमा चर्चा बढी छ । नाट्टा निर्वाचनमा पनि विगतको एनएमए र टान निर्वाचनकै श्रृङखला पुनरावृत्ति हुने आँकलन व्यवसायीहरुले गरेका छन् । सोहीअनुसार गुरागाईलाई स्वतन्त्र एवं लोकतान्त्रिक व्यवसायी र पाण्डेलाई बाम गठबन्धनको समर्थन रहने बुझिएको छ । 

तर, अध्यक्षका यी दुबै दाबेदारले राजनीति भन्दामाथि उठेर नाट्टामा आफुले व्यवसायिक नेतृत्व गर्न चाहेको बताएका छन् । गुरागाई र पाण्डे दुबैले व्यवसायिक टिम निर्माण गरेर जाने योजनासहित छलफल अघि बढाएको बताएका छन् । राजनीतिक गुट उपगुट भन्दामाथि रहेर व्यवसायीहरुले आफुलाई मतदान गर्ने दुबै उम्मेद्वारको दाबी छ । 

गन्तव्य नेपालसँग कुरा गर्दै अध्यक्षका प्रत्यासी गुरागाईले नाट्टामा पाइप लाइनमा रहेका कामहरुलाई अघि बढाउने, ट्राभल एन्ड टूर्स व्यवसायीका समस्यालाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सबै निकायहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले पनि पार्टीभन्दा माथि उठेर आम व्यवसायीहरुको नेतृत्व गर्दै साझा टिम गठन गर्ने र त्यसलाई सबै व्यवसायीले मतदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

त्यस्तै पाण्डेले पनि बाम र लोकतान्त्रिक भन्दापनि नाट्टालाई व्यवसायीक नेतृत्वको आवश्यकता रहेको भन्दै त्यसको नेतृत्व आफुले गर्ने बताउनुभयो । राजनीतिक आस्था सबैको आ–आफ्नै भएपनि आफु व्यवसायी भएको भन्दै उनले आफुले सबै व्यवसायीसँग सहकार्य गर्दै व्यवसायीक टिमको नेतृत्व गर्दै नाट्टाको नेतृत्व लिने बताउनुभयो । मुलुकको पर्यटन प्रवद्र्धन, आम व्यवसायीहरुको समस्या समाधान गर्दै ५० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप काम गर्ने पनि पाण्डेले बताउनुभयो । 

गुरागाई र पाण्डेसँगै अध्यक्षका लागि एम्पल टूर्स ट्राभलका प्रबन्ध निर्देशक लेखनाथ भण्डारी, चियरफुल टूर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक नारायण प्रसाद गुरुङ्ग (कोने), डीके टूर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार शर्मा घिमिरे र ब्ल्यू स्काई टूर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक शम्भुराज पाठकको नाम पनि चर्चामा छ । 

निर्वाचनबाट अध्यक्ष र अन्य पदाधिकारीसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचनका लागि ४ सय ७० मतदाता रहेको नाट्टाले जनाएको छ । 

तपाईंको बिचार