Monday, April 23, 2018

फेवातालदेखि सराङकोटसम्म केलवकार १८ महिनाभित्र बन्ने

प्रकाशित मिति: 2018/01/01

कास्की । पोखराको फेवाताल किनारादेखि सराङकोट जोड्ने केवलकार निर्माणको कार्य धमाधम भइरहेको छ । अन्नपूर्ण केवलकार प्रालिले निर्माण गर्न लागेको उक्त केवलकारको बटम र टप स्टेशनसम्मको ठेक्का चितवन कोइलाई दिएको छ । 

नेपालको पहिलो केवलकार मनकामना केवलकार निर्माण गर्ने कम्पनी पनि चितवन कोईनै हो । अन्नपुर्ण केवलकार प्रालिले पर्यटकीयस्थल साराङकोटलाई लक्षित गरेर केवलकार निर्माणको लागि २०७०देखि प्रक्रिया सुरु गरेको थियो । केवलकारमा ७५ प्रतिशत नेपाली व्यवसायी र १५ प्रतिशत विदेशी लगानीकर्ताको र १० प्रतिशत स्थनीयलाई साधारण शेयर जारी गर्नेगरी निर्माण गर्न लागिएको हो । 

कम्पनीले पिल्लर रहने ठाउँको निजी जग्गा किनिसेकेको र केवलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई सेयर दिने जनाएको छ । केवलकार निर्माणका लागि करिब १ अर्व ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान कम्पनीको छ ।

लक्षित अवधीमा काम भए अबको १८ महिनाभित्र पोखरा जाने स्वदेशी तथा विदेशी पर्यटकले फेवातालदेखि सराङकोटसम्म केवलकारमार्फत दृष्यावलोकन तथा भ्रमण गर्न पाउने छन् । अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन् । उक्त परियोजनाको मुख्य लगानी कता भने नेपाली व्यवसायी कालु गुरुङ तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहारा हुन् । जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाईको केबलकारमा १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् । ७ देखि ९ मिनेटसम्मको केवलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले यो पर्यटकका लागि नयाँ गन्तब्य बन्ने छ । केवलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सक्नेछन् भने केवलकारबाटै सूर्योदय र सूर्यास्त पनि सहज रुपमा देख्न सकिन्छ । 

सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ । सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केवलकार सञ्चालन गर्ने योजना कम्पनीको छ । 

तपाईंको बिचार