Tuesday, October 23, 2018

सरकारद्वारा ट्रेकिङ तथा ट्राभल कम्पनीको चुक्ता पुँजी र नवीकरण दस्तुरमा बृद्धि

प्रकाशित मिति: 2018/01/02

काठमाडौं । नेपाल सरकारले ट्रेकिङ तथा ट्राभल कम्पनीको चुक्ता पुँजी बृद्धि गरेको छ ।  गत साताको मन्त्रीपरिषद्द्धारा पारित ट्राभल र ट्रेकिङ नियमावली २०७४ मार्फत १० लाख रहेको चुक्ता पुँजी बृद्धि गर्दै २५ लाख तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययकाअनुसार नियमावलीमा स्वतः रद्दमा परेका कम्पनीलाई दोब्बर दस्तुर तिरेर नवीकरण गर्न पाउने व्यवस्थासमेत गरिएको छ भने कम्पनीहरुको नवीकरण दस्तुर पनि वार्षिक २५ हजार पुर्याइएको छ । अहिलेसम्म नवीकरण शुल्क १० हजार रुपैयाँ रहेको थियो ।

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमा हाल हजार ट्राभल एन्ड टुर्स तथा १ हजार ६ सय को हाराहारीमा ट्रेकिङ कम्पनीहरु दर्ता भएका छन् । सरकारले कम्पनीहरुलाई व्यवस्थित र जिम्मेवार बनाउन पनि चुक्त पुँजी तथा नवीकरण शुल्क बृद्धि गरेको प्रवक्ता उपाध्ययले बताउनुभयो ।

यसैबीच सरकारले पर्वतारोहण नियमावली २०७४ जारी गर्दै पूर्णरुपमा अशक्तहरुलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । नियमावलीमा दुई आखाँ, दुई हात तथा दुवै खुट्टा नहुनेहरुलाई प्रतिबन्ध लगाउने भएको हो ।

नियमावलीमा एक्लै पनि कुनै आरोहीलाई अनुमति नदिने व्यवस्था गरेको छ । वार्षिक झन्डै १ हजार हाराहारीमा आरोहणका लागि विदेशी नागरिकहरु नेपाल आउने गरेका छन् ।

गत वर्ष पनि ७ सय ८९ आरोहीहरुले आरोहण गरेका थिए । अशक्तहरु आरोहणमा बढी मात्रमा असुरक्षित हुने गरेको सरकारको बुझाई छ । यससँगै अब शेर्पाहरुले पनि प्रमाणपत्र पाउने भएका छन् ।

तपाईंको बिचार