Friday, January 19, 2018

धौलागिरी आइसफल क्षेत्रमा पदमार्ग निर्माण

प्रकाशित मिति: 2018/01/05

काठमाडौं । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ । ६ वर्ष अगाडि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तर काम भइरहेको छ ।

मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजित १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो । झन्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ वटा पदमार्ग निर्माण गरिएको धौलागिरी आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रबकुमार पाइजाले जानकारी दिनुभयो । 

रघुगङ्गा नदीको किनारमा ससलधारा कोखेभीरदेखि कालीबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ । अक्करे भीरमा डोरीको सहायताले भीर फोरेर पदमार्ग निर्माण गरिएको छ । अधिकांश ठाउँमा ढुङ्गाको भ¥याङ चिरेर पदमार्ग बनाइएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पक्षेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्ग निर्माण गरिएको छ । रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने अवस्था छ भने दहबुकीदेखि कालीबराह खोलासम्म सिँढी चिनेर पदमार्ग बनाइएको छ ।

कुइनेमङ्गले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविर पुग्नका लागि अब झन्डै तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झन्डै ५० मिटर जति भूभाग कडा चट्टानको भीरलाई काटेर बनाउनुपर्ने पाइजाले बताउनुभयो ।

तपाईंको बिचार