Tuesday, October 23, 2018

फेवाताल किनारामा अतिक्रमण गरेर बनाएको संरचना महानगरले भत्कायो

प्रकाशित मिति: 2018/01/05

पोखरा । पर्यटकीय केन्द्र पोखराको रमणिय फेवाताललाई कुरुप बनाउने गरि अतिक्रमण गरेर निर्माण गरिएको संरचानहरु पोखरा लेखनाथ महानगरपालिकले भत्काउन सुरु गरेको छ ।  

संक्रमणकालीन अवस्थाको फाइदा उठाउदै निर्माण गरिएका फेवाताल किनारमा ब्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका अवैध संरचना भत्काइएको हो।फेवाताल किनारमा पर्ने खपौंदी, गैराको चौतारालगायतका स्थानको ताल किनारमा केही व्यवसायीले घरटहरा निर्माण गरिरहेका बेला महानगरपालिकाले पटकपटक निर्माण सामाग्रीहरु जफत गर्दा पनि निर्माण कार्य जारी राखेपछि महानगरपालिकाले बिहिबार डोजर लगाएर भत्काएको हो। 

महानगरपालिकाले पटकपटक निर्माण रोक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि  नगर प्रहरी,  नेपाल प्रहरीसहित टोली सुरक्षाकर्मी प्रयोग गरेर गैरकानुनी संरचना डोजर लगाएर भत्काएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। फेवाताल पोखराको गहना हो, यसको संरक्षण गर्नु महानगरको दायीत्व हो पटकपटक गरेको आग्रहको बेवास्ता गरेपछि बाध्य भएर डोजर लगाउनु परेको उनले बताए ।  महानगरपालिकाका प्रमुख जिसीले फेवाताल र सिमसार क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु भत्काएरै छाड्ने बताए। फेवाताल  मानव अतिक्रमण र प्राकृतिक अतिक्रमणको चपेटामा पर्दै जान थालेको बताए।

करिब ६ किलोमिटर अर्थात १० हजार रोपनीमा फैलिएको फेवाताल किनाराको सिमसार क्षेत्रको ठूलो भूभाग विभिनन्न बहानामा अतिक्रमण हुँदै गएको छ ।

तपाईंको बिचार