Monday, September 24, 2018

नाट्टामा पाण्डे र शर्माबीच प्रतिस्पर्धा हुने

प्रकाशित मिति: 2018/01/07

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सर्वसम्मत नेतृत्व आउने सम्भावना टरेको छ । नाट्टा निर्वाचन कार्यतालिकाअनुसार आइतबार दुईटा प्यानलको मनोनयन दर्ता भएपछि चुनाव हुने निश्चित भएको हो । 

आगामी जनवरी १२ मा हुन लागेको निर्वाचनका लागि बाम गठबन्धन र नेपाली कांगे्रसनिकट निट पक्षधरहरुले नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सि.एन. पाण्डे नेतृत्वको संयुक्त प्यानल बनाएर मनोनयन दर्ता गरेसँगै वर्तमान द्धितीय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरे नेतृत्वको अर्को प्यानलको पनि मनोनयन दर्ता भएको छ । योसँगै पाण्डे र घिमिरे प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । 

सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्धारी परेको छ ।
  
यता गैरराजनीतिक तथा स्वतन्त्र व्यवसायीक टिम भन्दै दिपेन्द्र कुमार शर्मा घिमिरेको प्यानलबाट भने प्रथम उपाध्यक्षमा चित्र बहादुर  गुरुङ, दितिय उपाध्यक्षमा  संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्कीको मनोनयन दर्ता भएको छ । 

पर्यटन क्षेत्रमा लामो समयदेखि राज गर्दै आएको बाम गठबन्धन (माओवादी–एमालेसम्बद्ध व्यवसायीहरु) र लोकतान्त्रिक गठबन्धन (नेपाली कांगे्रसनिकट निटसम्बद्ध व्यवसायीहरु) बीच सहमति भएपनि सर्वसम्मत नेतृत्व आउने अनुमान गरिएको थियो र उम्मेद्धारी मनोनयन दर्ता गर्नु केही अगाडिसम्म पनि त्यस्तै चर्चा बजारमा थियो । तर डिके शर्मा समुहले संघ संस्थामा राजनीतिक सिन्डीकेट प्रथाको अन्त्य हुनु पर्ने र गैरराजनीतिक टिम नाट्टाको आवश्यकता भएको बताउँदै आफुहरुको समुह निर्वाचनमा होमिएका बताएको छ । 

तपाईंको बिचार