Sunday, February 17, 2019

नेपाल आउने पर्यटकको संख्यामा वृद्धि

प्रकाशित मिति: 2018/05/07

काठमाडौं ।  नेपालका प्राकृतिक सम्पदाले जो कसैलाई पनि मन्त्रमुग्ध पार्ने गर्दछ । एकपटक नेपाल आएका पर्यटकहरु बसाई लम्ब्याउनेदेखि पटक पटक दोहोर्‍याएर पनि आउने गर्दछन् । तर राज्य पर्यटन क्षेत्रको दीर्घकालीन विकासमा लाग्न नसक्दा सोचेअनुरुपको पर्यटक आगमन भने अझै हुन सकिरहेको छैन् ।

२०७४ अर्थात सन् २०१७ मा अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले ‘भिजिट नेपाल’–सन् १९९८ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य गतबर्ष पूरा भएको हो । भूकम्पपछिको २ बर्षमा निराशाजनक संख्यामा रहेको पर्यटन आगमन ०७४ मा भने १० लाख पुगेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । लामो समयदेखिको पर्यटक आगमनलाई दोब्बर बनाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण अहिलेसम्मकै धेरै पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो बर्ष नेपालमा पर्यटक आगमन २५ प्रतिशतले बृद्धि भएको थियो ।

सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक नेपाल आएका थिए । यता, सन् २०१८ को तीन महिनाको पर्यटक आगमनको तथ्यांक पनि उत्साहजनक रहेको छ । विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ४० हजार र भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । नेपालका विभिन्न पदमार्गमध्ये सबैभन्दा धेरै बार्षिक एकलाख बढि पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । यस्तै, सगरमाथामा बार्षिक ४० हजार पर्यटक पुग्ने गरेको पर्यटन बोर्डले जनाएको छ ।

नेपालमा कमजोर पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह र आशा पैदा गरेको छ । प्राकृतिक छँटाले भरिपूर्ण नेपालमा पर्यटक आगमनमा बृद्धि गर्न सकिने भएपनि सरकारबाट कुनै किसिमको पहल भने हुन सकेको छैन् । समग्रमा २०७४ साल अस्थिर सरकार र तीनवटा निर्बाचन हुँदा पनि पर्यटक आगमनमा उत्साजनक बृद्धि भएको छ । मुलुकमा स्थिर सरकार आएकोले सरकारले पर्यटन क्षेत्रमा ल्याउने नयाँ कार्यक्रमले आगामी दिनमा पर्यटक आगमनमा बृद्धि हुने पक्का छ ।

तपाईंको बिचार