Sunday, August 25, 2019

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको भव्य तयारी

प्रकाशित मिति: 2018/05/14

काठमाडौं । साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने भएको छ ।

‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङटाङको पुनः निर्माणस्वरुप टानले विगत दुई वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । कुल ४२ दशमलव १९५ किलोमिटर म्याराथन क्याङजिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

म्याराथनका महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः रु एक लाख पाँच हजार, रु ७८ हजार ७५० र रु ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । उक्त म्याराथनमा स्वदेशी तथा विदेशी गरी १०० जना खेलाडी प्रतिस्पर्धा गर्नेछ । आगामी दुई वर्षमा कम्तीमा २०० विदेशी खेलाडिलाई सहभागिता गराउने अठोटका साथ टान लागिपरेको लाङटाङ म्याराथनका संयोजक ऋतु ग्याम्दानले बताईन् । गन्तव्य नेपालँग संक्षिप्त कुराकानी गर्दै ग्याम्दानले लाङटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको आकर्षक गन्तव्य बनाउनको लागि यो प्रतियोगिता गरिएको पनि बताईन् । 

टानका मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब चार घण्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगी समापन हुनेछ ।  प्रतियोगितामा सहभागी हुन विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि रु दुई हजार ५०० दर्ता शुल्क लाग्नेछ । सो अवसरमा टानका अध्यक्ष नवराज दाहालले सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुर्‍याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

 भूकम्पबाट प्रभावित लाङटाङ पूर्ववत् अवस्थामा फर्किसकेको र त्यहाँ धेरै पर्यटक पुग्न थालेको जानकारी दिदैं उहाँले यकिन विवरण नभएपनि सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङटाङ गएको बताए । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले पर्यटन प्रवद्र्धनार्थ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको प्रभावकारितालाई अझ बढाइनुपर्नेमा जोड दिए ।
उक्त प्रतियोगिताको सह–आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाज रहेको छ भने प्रायोजक गोसाँइकुण्ड गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायत एक दर्जनभन्दा बढि संघ संस्थाहरु रहेका छन् ।

तपाईंको बिचार