Tuesday, April 23, 2019

भिम बहादुर र पुर्णिमाले जिते एभरेष्ट म्याराथनको उपाधि

प्रकाशित मिति: 2018/06/02

काठमाडौं । नेपाली सेनाका भिमबहादुर गुरुङले तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८ को उपाधि जितेका छन् । सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन भएको विश्वकै अग्लो उचाइमा आयोजना गरिने तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८ मा सन् २०१५ को संस्करणको बिजेता रहिसकेका गुरुङले साविक बिजेता सुमन कुलुंगलाइ झन्डै ४ मिनेटले पछि पार्दै उपाधि जितेका हुन ।  ४२.१९५ किलोमिटरको दौड  गुरुङले ४ घण्टा २ मिनेट ३० सेकेन्डमा दौड पुरा गरे भने कुलुंगले ४ घण्टा ६ मिनेट १० सेकेन्ड लगाए । 

त्यस्तै २०१६ संस्करणका बिजेता बेद सुनुवारले ४ घण्टा २८ मिनेट ३५ सेकेन्डको समय सहित तेस्रो स्थान हात पारे ।  पुरस्कारको राशि क्रमश रु २ लाख, रु १ लाख र रु ७५ हजार  रहेको छ । म्याराथन सगरमाथा शिबिरबाट शुरु भइ गोरक्षेप, लोबुचे, डोक्ला, दिन्गबोचे र तेंगबोचे हुँदै नाम्चेबजारमा समापन भएको थियो ।  प्रतियोगितामा ३१ देशका १३९ बिदेशी सहित झन्डै २०० धावकहरुको सहभागिता रहेको थियो । त्यस्तै महिला तर्फको स्पर्धामा पुर्णिमा राइ बिजयी भइन् ।  ५ घण्टा २० मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेकी पुर्णिमाले  निरकला राइ, पदमकुमारी राइलाई पछी पारिन् । 

      
बिदेशीतर्फको स्पर्धा उपाधि भने जर्मनीका म्यानुयल सेएरले हात पारे ।  ५ घण्टा ५९ मिनेट २९ सेकेन्डमा दौड पुरा गरेका म्यानुयलले मिराकल म्यान उपनामले चर्चित बेलायति धावक जोनाथन ब्याम्बर र न्युजल्यांडका जोशुवा ब्ल्याईलेभेनलाइ पछी पारे  । 

भारतमा तोपेंदु हिमाल आरोहण क्रममा शिखर नजिकबाट खसेको चट्टानले लागेर जमिनभन्दा १६०० मिटर माथि झुन्डिएर बाँचेका ब्याम्बरलाइ त्याहाँबाट उद्धार गर्न दुइ दिन लागेको थियो भने सुरक्षित स्थलमा पुर्याउन ६ दिन लागेको थियो । उनको दुवै खुट्टाको गोलिगांठो देखि घुंडासम्म नराम्रो गरि चिरिएको थियो र काँधको मांसपेशी लगेर शल्यक्रिया गरिएको थियो  । डाक्टरले बाँचे पनि हिंड्न नसक्ने घोषणा गरेका ब्याम्बरले १० बर्ष पछी बेलायतमा एक हाफ म्याराथनको उपाधि जितेर सबैलाई चकित पारेका थिए । 
 
त्यसैगरि ६० किलोमिटर लामो एभरेष्ट उल्ट्रा दौडको उपाधि भने तिर्थ तामांगले हात पारे  ।  ६ घण्टा ५६ मिनेट १३ सेकेन्डमा दौड पुरा गरेका तिर्थले किरण कुलुंग  र मोहनदेव जोशीलाइ पछी पारे । हाफ म्याराथनको उपाधि भने न्युजल्याण्डका जेडन क्लिनाकले हात पारे  । २१ किलोमिटर लामो दौड उनले २ घण्टा ५९ मिनेट ३५ सेकेण्डमा पुरा गरे  । दक्षिण कोरियाका दान कुक वन  र भारतका दिपेश सभरवाल  क्रमश दोस्रो र तेस्रा भए  ।   

दौड पछि संक्षिप्त प्रतिक्रिया दिंदै म्याराथन बिजेता भिमबहादुर गुरुङले उपाधि फेरी चुम्न पाउँदा खुशी लागेको बताए  । गत बर्ष दोस्रो स्थानमा चित्त बुझाएकि महिला स्पर्धाकि बिजेता पुर्णिमाले जितले खुशी दिलाएको बताइन्  । सगरमाथा प्रथम आरोहणको दिन पारेर हिमालय एक्सपीडीसन्स ले बिगत १५ बर्ष देखि म्याराथनको आयोजना गर्दैआइरहेको छ  । 

तपाईंको बिचार