Sunday, August 25, 2019

भिटोफ नेपालको रोपाई महोत्सव ललितपुरको लेलेमा

प्रकाशित मिति: 2018/06/20

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले यस वर्षको धान दिवश अर्थात रोपाई महोत्सव उपत्यकामै आयोजना गर्ने भएको छ । भिटोफले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आउँदो असार १५ गते ललितपुरको गोदावरी नगरपालिका लेले गाउँमा महोत्सव आयोजना गर्ने गरि तयारी थालेको छ । 

मञ्चको वार्षिका कार्यक्रम अन्तर्गत यस वर्ष पनि उक्त महोत्सव आयोजना गरिएको अध्यक्ष कमल सापकोटाले जानकारी दिनुभयो । कृषि र संस्कृति पर्यटन प्रर्वद्धनका लागि महोत्सवले ठुलो मदत पुर्याउने उहाँले बताउनुभयो । 

त्यस्तै भौगोलिक धरातल तथा हिमश्रृंखला, प्राचिन बस्ती तथा मौलिक संस्कृति, धार्मिक सम्पदा, नेवारी समुदायको साँस्कृतिक झाँकीको अवलोकन गर्नुका साथै हिलो खेलेर रोपाईलाई महोत्सवको रुपमा मनाउने उद्देश्यले आयोजना गरिएको मञ्चका उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहालले बताउनुभयो । 

भिटोफ नेपालका कार्यसमिति सदस्य राज कुमार धमलाको संयोजकत्वमा आयोजना हुन लागेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा सम्बन्धित सरोकारवला निकाय र बिभिन्न संघसङ्स्थाका प्रतिनिधिहरुको आतिथ्यता रहने पनि दाहालले जानकारी दिनुभयो । 

भिटोफ नेपालले विगतदेखि नै हरेक वर्षको धान दिवश तथा रोपाई महोत्सव आयोजना गर्दै आइरहेको छ । काठमाडौंबाट साढे १ घण्टामा पुगिने लेले फरक ग्रामिण बस्ती, विविध सांस्कृति सामुहिक बस्ती, भौगोलिक धरातलीय बस्तीका साथै मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिने ठाउँ भएका कारण यसले पर्यटकीय हिसाबले सम्भावना बोकेको छ । उक्त ठाउँमा लामो तथा छोटो पदयात्रा पनि गर्न सकिन्छ ।

तपाईंको बिचार