Thursday, July 18, 2019

नेपाली हवाई कम्पनीहरुको खुलेआम ब्रम्हलुट

प्रकाशित मिति: 2018/06/24

असार १०, काठमाडौं । नेपालका हवाई कम्पनीहरुले नेपाल भ्रमणमा आएका पर्यटकलाई खुलेआम ठग्ने गरेको पाइएको छ । हवाई कम्पनीहरुले विगत लामो समय देखि नेपाल भ्रमणमा आएका पर्यटकलाई मनलाग्दी शूल्क लगाएर ठग्दै आएको थाहा भएपनि त्यसलाई निरुत्साहित पार्न सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन ।

 पर्यटन व्यवसायीहरुका अनुसार नेपालका हवाई कम्पनीहरुले काठमाडौं देखि लुक्ला सम्म एकतर्फी उडानका लागि नेपाली नागरिकसँग ५ हजार रुपैयाँ भाडा लिने गरेका छन् । तर सोही गन्तव्यमा जाने विदेशीले भने नोपलीले भन्दा तीन गुणा बढी भाडा तिर्नुपर्ने हुन्छ । हवाई कम्पनीहरुले विदेशी पर्यटकसँग लुक्लाको एकतर्फी भाडादर १ सय ८० डलर अर्थात १८ हजार रुपैयाँ भन्दा बढी असुल्ने गरेका छन् । त्यस्तै पोखराका लागि पनि नेपालीले २५ सय देखि ५१ सय रुपैयाँ सम्म भाडा तिर्नुपर्ने भएपनि विदेशी पर्यटकहरुसँग भने ९ हजार देखि १३ हजार ७ सय रुपैयाँ सम्म भाडा असुल्ने गरेका छन् । 

टानका पूर्व बरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी टासि शेर्पाले सामाजिक संजाल मार्फत हवाई कम्पनीहरुको मनोपोलीलाई कटाक्ष गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले लेखेका छन् ‘काठमाडौं–पोखरा हवाई टिकटको पैसा नेपालीलाई रु २५ सय देखि ५१ सय सम्म र पर्यटकलाई ९ हजार देखि १३ हजार ७ सय सम्म हवाई कम्पनीले यतिधेरै चार्ज गर्दा कहाँ छ राज्य ? यसलाई ठगि भन्न मिल्ने की नमिल्ने बताउ सरकार ।’ 

उनले यस विषयमा सरकारले तत्काल छानविन गरि अनियमित कार्य रोक्नुपर्ने माग गरेका छन् । 

हवाई कम्पनीहरुको यस्तो मनोमानीले अन्तर्राष्ट्रिय जगतमै नेपालबारे नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ । पर्यटन प्रवद्र्धनको मात्र कुरा गरिरहदा केही सिमित व्यवसायीहरुको यस्तो कमाउ धन्दा नरोक्ने हो भने एक पटक नेपाल घुम्न आएका पुन नआउने वातावरण सृजना हुन सक्ने तर्फ चिन्ता व्यक्त गरेका छन् । हवाई कम्पनीहरुले काठमाडौं–लुक्लाका लागि लगाउने भाडादर थाइल्यण्डको एकतर्फी टिकटको दर भन्दा पनि महंगो हो । मौसम अनुकुल रहेका बेला एउटा हवाई कम्पनीले लुक्ला ४, ५ वटा सम्म उडान भर्ने गर्छन ।    

त्यस्तै अन्य व्यवसायीहरुले विदेशीले पनि उनीहरुको देश घुम्न जाने नेपालीलाई यस्तै व्यवहार गरे कस्तो असर पर्छ सरकार एकपटक सोच भन्दै सामाजिक संजाल मार्पmत सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईंको बिचार