Tuesday, April 23, 2019

आगामी डिसेम्बरसम्म हिमालहरुको प्रोफाइल तयार हुने

प्रकाशित मिति: 2018/07/04

काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक हिमालहरुको प्रोफाइल तयार भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल पर्वतारोहण संघ (एनएमए)ले प्रोफाइल तयार पारिरहेको छ ।

२०७० सालबाटै प्रोफाइल बनाउन थालेपनि हालसम्म सकिएको छैन । एनएमएको नयाँ नेतृत्व आएपछि पुनः काम सुरु गरिएको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । उनले सरकारले आउँदो डिसेम्बरभित्र काम सम्पन गर्ने समयसीमा दिएको बताउँदै आफूहरुले निर्धारित समयभित्रै काम सक्नेगरी अघि बढाइरहेको जानकारी दिए । 

त्यो प्रोफाइल हेरेपछि नेपालका सबै हिमालको सम्पूर्ण जानकारी पाइने छ । यसले नेपालमा थप पर्यटक भित्र्याउन सहयोग गर्ने विश्वास लिइएको छ । प्रोफाइलबाटै हिमालसम्म कसरी जाने, कहाँबाट जाने, कति दिनमा पुगिने र सुरक्षा अवस्थादेखि कसरी सुरक्षित रुपमा आरोहण गर्ने भन्ने विषयसमेत थाहा हुने अध्यक्ष लामाको भनाइ छ ।

नेपालमा धेरै हिमाल आरोहणका लागि योग्य हुँदाहुँदै पनि प्रचारप्रसार नभएकै कारण ओझेलमा परेकाले यो प्रोफाइल तयार भएपछि सहयोग मिल्ने पर्यटन व्यवसायीहरुको विश्वास छ । नेपालको पर्यटन क्षेत्रको ठूलो हिस्सा हिमाल आरोहीले ओगटेको छ । 

प्रोफाइलमा आरोहणका लागि खुला गरिएका ३२६ र आरोहणको लागि खुला गर्न सम्भव भनी पहिचान भएका १६५ सहित ४९१ ओटा हिमालको जानकारी समेटिने छ । पर्वतारोहण संघलाई संयोजक बनाएर प्रोफाइल तयार पार्न सरकारले छुट्टै समितिसमेत बनाएको छ ।

एनएमए अध्यक्ष लामाको संयोजकत्वमा रहेको समितिमा सिमाविद बुद्धिनारायण श्रेष्ठ, पर्यटन व्यवसायी निमा नुरु शेर्पा, पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठ, एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, कार्यसमिति सदस्य डा. हरिप्रसाद श्रेष्ठ, दिपेन्द्र पाण्डे र सञ्जीव पाण्डे, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका अध्यक्ष नवराज दाहाल, नेसनल माउन्टेन गाइड अफ नेपालका अध्यक्ष आङ नोर्बु शेर्पा, सगरमाथा आरोही सघंका सदस्य शिवबहादुर सापकोटा, संखुुवासभा सगरमाथा आरोही संघका महासचिव पासाङ भोटे, नक्सा विज्ञ दीपक शर्मा दाहाल, वातावरण विज्ञ सुस्मिता ढकाल, फोटोग्राफर सुदर्शन कार्की, पर्यटन व्यवसायी सरोज न्यौपाने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्य रहेका छन् ।

तपाईंको बिचार