Sunday, February 24, 2019

होमस्टेको लागि ५० प्रतिशतले छुट

प्रकाशित मिति: 2018/07/04

काठमाडौं । सरकारले होमस्टे दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । चालू आवको साउनबाट होमस्टे कार्यविधिलाई संशोधन गरेर बिना शुल्क दर्ता हुन सक्ने होमस्टेलाई अनिवार्य रूपमा १० हजार रुपैयाँ शुल्क लिने व्यवस्था गरेको थियो ।

होमस्टेले ग्रामिण पर्यटन प्रवद्र्धन गरेको, स्थानीय स्तरको आय आर्जनमा सहजीकरण गरेको र बास्तविक गाउँसम्म पर्यटक पुर्‍याउन सहजीकरण गर्ने भन्दै सरकारले होमस्टेको दर्ता शुल्क आउँदो साउन महिनादेखि फेरि ५० प्रतिशत कटौती गर्ने भएको हो । हाल १० हजार रुपैयाँ तिरेर दर्ता गरिरहका सबै होमस्टेले अब साउनबाट ५ हजार मात्रै तिरे पुग्ने गरी पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
विभागले राजस्व परिमार्जन शीर्षकमा होमस्टेलाई ५० प्रतिशत कम गरेको छ भने अन्य पर्यटकीय गतिविधिका निकाय होटल, ट्राभल, ट्रेकिङसहितका ठूला पर्यटनका क्षेत्रलाई भने २५ प्रतिशतसम्मको राजस्व बृद्धि गरिएको छ ।

पर्यटन विभागका अनुसार २० करोडको कम्पनीलाई १० हजार शुल्क लिन सामान्य विषय हो भने होमस्टेलाई प्रवद्र्धन गर्न नोमिनल शुल्क मात्रै लिइनुले सकारात्मक सन्देश प्रवाह हुनेछ ।

पर्यटन क्षेत्र बाहेकका अन्य क्षेत्रका कम्पनीले १ अर्बको कम्पनी भएमा लाखौ राजस्व तिर्नुपर्छ । त्यसको तुलनामा पर्यटनका कम्पनीमा २५ प्रतिशत बढाउँदा पनि अन्य क्षेत्रजस्तो ठूलो रकम नहुने, पर्यटन क्षेत्र सेवामूलक भएकोले पनि सरकारले पनि त्यही अनुसार व्यवसायीलाई सहजिकरण गरिदिएको बुझाइ विभागको छ ।

होमस्टे प्रवद्र्धन गर्न सरकारी उद्देश्य भएकोले यसलाई अन्य कर वा शुल्क लिने गरिएको छैन । हाल देशभर करिब साढे ३ सय होमस्टे दर्ता भएको उल्लेख छ ।

तपाईंको बिचार