Sunday, February 24, 2019

‘फेक रेस्क्यू’का अभियुक्त सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै नाटोजद्धारा भत्सर्ना

प्रकाशित मिति: 2018/07/09

काठमाडौं, २५ असार । ‘फेक हेलिकोप्टर रेस्क्यू’ गरेको अभियोग लागेको हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले आपत्ति जनाएको छ । नाटोजले एक प्रेस विज्ञप्त जारी गरी सापकोटाको आपत्ति जनाएको हो । 

सापकोटाले आफ्नो कर्तुत ढाकछोप गर्ने  नियतले विभिन्न किसिमका हर्कत गरिरहेको र पत्रकारमाथि अपमानजनक व्यवहारको भन्दै नाटोज घोर भत्सर्ना गरेको छ । नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत  ‘फेक हेलिकोप्टर रेस्क्यू’ गरेको अभियोगमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयद्धारा गठित छानविन समितिको लिष्टमा परेको हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि गरेको दूरव्यवहारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको तथा छानविन समितिले तीन दिनभित्र कम्पनीको हेलिकोप्टर रेस्क्यूसम्बन्धि सम्पूर्ण विवरण बुझाउन भनिसकेको अवस्थामा पनि अटेर गरेर बसेका सापकोटाले पटक पटक पत्रकारलाई प्रलोभनमा पार्न खोज्ने र प्रलोभनमा पार्न नसकेपछि धम्क्याउने गरेको पाइएको उल्लेख गरिएको छ ।  

‘सापकोटाको कम्पनीविरुद्ध विदेशी मिडियामासमेत प्रमाणसहितको समाचार आइरहेको सन्दर्भमा पत्रकारलाई आफ्नो पक्षमा समाचार लेख्नुप¥यो त्यसको लागि मैले के कति सहयोग गर्नुपर्छ, म तयार छु’ भन्ने गरेको र पत्रकारले कम्पनीले गरेको वास्ताविकता उजागर गर्न थप विवरणको सोधिखोजी गर्दा उल्टै ‘मैले भनेको नमान्ने ? तिमीले के गर्न सक्छौं गर’ भनेर थर्काउने अनि विभिन्न अपच शब्दसमेत प्रयोग गर्ने गरेका छन्’ विज्ञप्तीमा लेखिएको छ ‘उनको यस्तो व्यवहारको सिकार थुप्रै पत्रकारहरु परिसकेका छन् । छानविनको दायरामा रहेको एउटा कम्पनी र त्यसका सञ्चालकको यस्तो व्यवहारबाट संविधानप्रद्धत्त प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि नै गम्भिर प्रश्नचिन्ह खडा भएको छ ।’ 

यस्तै हर्कतहरु दोहोरिदै गए नाटोजलाई सह्य नहुने अध्यक्ष अधिकारीले चेतावनी दिए ।

घटनाको बारेमा निस्पक्ष एवं प्रभावकारी छानविन गरी सत्य, तथ्य कुरा बाहिर ल्याउन नदिने नियतले यस्तो गतिविधि भएको ठहर गर्दै नाटोजले यसप्रति सजक रहन सबैलाई आग्रहसमेत गरेको छ । नाटोजले फेक रेस्क्यूको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिंगो पर्यटनको बारेमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले अभिलम्ब छानविन गरी सत्य, तथ्य सार्वजनिक गर्न आग्रहसमेत गरेको छ । 

 

तपाईंको बिचार