Thursday, April 25, 2019

पर्यटकको बसाई लम्ब्याउन निःशुल्क शौचालयको व्यवस्था

प्रकाशित मिति: 2018/07/15

 
भक्तपुर । भक्तपुर नघुम्दा आधा विश्वको भ्रमण छुटेजस्तो लाग्छ भनी धेरै पर्यटनहरु टिप्पणी गर्छन् । तर तिनीहरु यहाँ घुम्न आउँदा जम्मा एक–दुई घण्टाको मात्र समय बिताउँछन् । किन होला त ? भन्ने विषयमा होटल एसोसियसन अफ भक्तपुर (ह्याब) ले खोजी गरेको छ । उनीहरुको अनुुुुन्धानले यहाँ पर्यटकलाई शौचालयको उचित व्यवस्था नभएको कुरा औल्याएको छ । त्यसैलाई मध्यनजर गर्दै ह्याबले आफ्ना सदस्यलाई पर्यटकको लागि निःशुल्क शौचालय सुविधा दिने स्टिकर वितरण गरेका हुन्र्।

भक्तपुर नगरमा पर्यटकको लागि केही भक्तपुर दरबार क्षेत्र, व्यासी पर्यटक बसपार्क र केही पर्यटक सेवा केन्द्रमा मात्रै शौचालयको व्यवस्था रहेको छ। तर पर्यटकीय क्षेत्र पुग्ने अधिकांश पर्यटकले शौचालय नभएको गुनासो गर्दै आएका छन्।

पर्यटन व्यवसायीहरुले पर्यटकीय क्षेत्रमा शौचालय व्यवस्था गर्न भक्तपुर नगरपालिकाको ध्यानाकर्षणसमेत गराएको छ । तर आफूहरुको ध्यानाकर्षणको भक्तपुर नपाबाट सुनुवाइ नभएपछि होटल व्यवसायीहरु आफै आआफ्नो होटलमा पर्यटकहरुको लागि निःशुल्क शौचालय सुविधा प्रदान गर्न अघि बढेका हुन्।

होम स्याजको आर्थिक सहयोगमा भएको भक्तपुरका होटल व्यवसायीहरुको भेलामा होटल एसोसियसन अफ नेपाल (हान) की प्रथम उपाध्यक्ष सृजना राणा र ह्याबका अध्यक्ष सत्यराम सुवालले संयुक्त रुपमा पर्यटकको लागि निःशुल्क शौचालय सुविधासम्बन्धी सांकेतिक स्टिकर सार्वजनिक गरेका हुन्। सोही अवसरमा उनले होटल पर्यटकहरुलाई बास उपलब्ध गराउने ठाउँमात्रै नभई यसको सेवा प्रवाह अन्तर्राष्ट्रियस्तरको हुनुपर्नेमा जोड दिइन्।

भक्तपुर पुग्ने पर्यटकहरुले यहाँ पर्यात शौचालय नभएको गुनासो हानसम्म पनि पुगेको सुनाउँदै होटल अन्नपूर्णकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेकी राणाले भनिन्,  “अब भक्तपुर पुग्ने कुनै पनि पर्यटकले शौचालय नभएको गुनासो गर्नुपर्ने छैन। उनीहरुले हाम्रा होटल व्यवसायीबाट निःशुल्क शौचालय प्रयोग गर्न पाउने भएका छन्।”

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुर पुग्ने पर्यटकहरुको बसाइ लम्ब्याउने वातावरण तयार गर्न यहाँका होटल व्यवसायीहरु क्रियाशील हुने विश्वास व्यक्त गरे।

तपाईंको बिचार