Sunday, February 17, 2019

रेस्क्यू आतंकको श्रृङखला बन्द गर

–शिव अधिकारी (अविरल)
प्रकाशित मिति: 2018/07/15



काठमाडौं । पर्यटन मन्त्रालयले पदयात्रामा गएका पर्यटकहरुलाई बिरामी बनाएर उद्धारको नाममा मोटो रकम असुल्ने केही ट्रेकिङ, हेलिकोप्टर कम्पनी र हस्पिटलहरु माथि छानविन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव धनश्याम उपाध्यायको नेतृत्वमा गठित छानविन समितिले गत असार १५ गते नै छानविन प्रतिवेदन बुझाउनुपर्ने थियो । तर गहन अध्ययन गर्ने भन्दै समितिको म्याद २ महिना थप गरि अनुसन्धान लम्ब्याइएको छ । जसले यतिबेला सिंगो पर्यटन क्षेत्रमा एक प्रकारको आतंक मच्चिएको छ।

यस्ता गलत काम गर्ने गरेको भन्दै उजुरी परेका माथि त छाविन गरि आवश्यक कारबाही गर्न आवश्यक छ नै तर पछिल्लो समय म्याद थप गरेर मन्त्रालयले अन्य व्यवसायीहरुलाई समेत पत्र काट्ने र त्रसित बनाउने काम गरेको छ । आफु माथि उजुरी परेर छानविनमा तानिएपछि अरुलाई पनि फकाउने र तर्साउने नियतका केही राजनीतिक खोल ओढेका दूषित मनसाय बोकेका व्यवसायीहरुको पन्जामा परेर समितिले त्यस्तो काम गरेको गुनासो व्यवसायीबाटै आइरहेको छ । यो राम्रो पक्ष होइन । यसले निश्पक्ष छानविनमा समेत प्रश्न उब्जाउन सक्छ । गलत काम गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ यो समितिको दायित्व हो । तर गलत काम गर्नेहरुसँगको समितिका संयोजक र स्वयंम पर्यटन मन्त्रीको उठबस अनि उनीहरुकै सिफारिसमा छानिछानी व्यवसायीहरुलाई छानविनका लागि पत्र काट्नुले कतै दोषी उम्कने र निर्दोश फस्ने त होइन भन्ने आशंका गर्न थालिएको छ । जुन नेपालको समग्र पर्यटनकै लागि घातक बन्न सक्छ । हामी चाहन्छौं ।

पर्यटन क्षेत्र व्यवसायीक र निष्पक्ष बन्नुपर्छ । व्यवसायीको एउटा गलत सन्देशले नेपालको पर्यटनले ठुलो नोक्सानी व्यर्होनुपर्ने अवस्था सृजना हुन सक्छ । ५ लाखबाट १० लाख पर्यटक भित्र्याउन सक्ने वातावरण बनेको बेला निष्पक्ष छानविन भन्दा पनि हल्ला बढी भयो भने विश्व जगतमा नेपालबारे नकारात्मक सन्देश जान सक्छ । यो कुरालाई छानविन समितिले मात्र होइन व्यवसायीले पनि जिम्मेवार पूर्वक लिनुपर्छ । आफ्नो पार्टीको सरकार भएका बेला आफ्ना नजिकका व्यवसायीलाई त फसाउनै हुन्न भन्ने मानसिकताबाट पर्यटन व्यवसायीहरु पनि बाहिर निस्कनुपर्छ । होइन भने त्यो धमिराले भोली तपाईको व्यवसाय पनि सिद्धायउँछ नै समग्र पर्यटनै धरासयी हुन सक्छ । अझ सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो लक्ष्य पुरा गर्नका लागि पनि हामी सबैले जिम्मेवारी पूर्वक अघि बढ्न जरुरी छ । त्यसका लागि सरकारले यस्तो गलत धन्दा गर्नेलाई कडा भन्दा कडा कारबाही गरि अहिलेको अन्तर्राष्ट्रिय जगतमा फैलाइएको नकारात्मक हल्लालाई छिटै समाधान गर्नुपर्छ ।

अन्तमा कोही कसैलाई यस्तो भ्रम नपरोस् की हाम्रो उद्धेश्य गलत काम गर्नेलाई गरि रहन देऊ भन्ने होइन । गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन । पर्यटनमा केही विकृतीहरु छन् । त्यो कुरालाई केही कम्पनीहरु माथि परेको उजुरीले पनि देखाउछ । तर सरकार कसैलाई त्रसित बनाउने भन्दा पनि विकृती हटाउने तर्फ केन्द्रिकृत हुर्नुपर्छ ।

 

तपाईंको बिचार