Friday, September 20, 2019

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

–कुमार चौलागाई /कल्पना पौडेल
प्रकाशित मिति: 2018/07/20

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङको ७५ प्रतिशत काम सम्पन्न गरेको छ । 

नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ । 

गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए । 

गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७० किलोमिटरको काम सक्याएर दुबै प्राविधिक टोली गत असारको दोस्रो साता काठमाडौँ फर्किएको हो । टोली काठमाडौँ फर्किएपछि यतिखेर विभागमा अहिलेसम्म संकलित तथ्याङ्कको विश्लेषण गर्ने काम भइरहेको छ । 

डंगोलले भन्नुभयो – “विभागले जिपिएस र लेभलिङका लागि छुट्टै टोली परिचालन गरेको थियो । जिपिएसमा टोली प्रमुखसहित १७ जना र लेभलिङका लागि १२ जना प्रविधिक सहभागी थिए ।” 

“अहिले हामी गत वर्षको डाटा प्रोसेसिङमा लागेका छौँ, यसको फाइलन आउटपुट निकाल्छौँ र वर्षायाम सकिएलगत्तै फिल्डमा मुभ हुन्छौँ,” उहाँले भन्नुभयो । 

मापनमा प्राविधिक सहयोग गर्न युजिल्यान्डका भूगर्भविद् प्रो किस्टोफ पियर्स अहिले नेपालमै हुनुहुन्छ । उहाँले एक महिनासम्म प्राविधिक टोलीलाई स्वयंसेवकका रुपमा प्रशिक्षण दिनुहुने प्रमुख डंगोलले जानकारी दिनुभयो । 

यस वर्ष १५ करोड बजेट 
सरकारले सगरमाथा मापनका लागि पर्याप्त बजेट विनियोजन गरेका कारण यस वर्ष मापन कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । चालुु आर्थिक वर्षमा यस कार्यका लागि विनियोजित रु. १५ करोड बजेटले मापन कार्यलाई निर्विध्नपूर्वक अघि बढाउन सहयोग पुग्ने नापी विभागको भनाइ छ । 

विभागका अनुसार यस वर्षको बजेटबाट फिल्डको कामसँगै मापनका लागि आवश्यक ग्राभिटी मेसिन खरिद गर्ने काम हुन्छ । खरिद प्रक्रियाका लागि विभागले तयारीसमेत थालिसकेको छ । विभागसँग रहेको पुरानो ग्राभिटी मेशिन बिग्रिएका कारण नयाँ किन्न परेको हो । 

मापन २०१९ भित्र सक्ने लक्ष्य 
विभागले अहिलेकै अनुपातका काम अगाडि बढाउन सकिए सन् २०१९ को अन्तसम्म मापनको कार्य सक्ने जनाएको छ । विभागसँग ६० वर्षको अनुभव छ । नयाँ प्रविधि अपनाउन सक्ने जनशक्ति दक्षसमेत रहेकाले निर्धारित समयमै काम सक्ने विभागको दाबी छ । 

विश्वको सर्वोच्च शिखरका रुपमा प्रख्यात सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरर्राष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्पको प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो । 

मापन कार्य शुरु गर्नु अघि विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, संयुक्त राज्य अमेरिका, इटालीलगायत देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरेको थियो । 

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । 

विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । हालसम्म त्यस्ता ४९ वटा बिन्दु मापन टोलीले फेला पारिसकेको छ । 

मापनका तीन विधि 
विभागले उचाइ नाप्न तीनवटा विधि प्रयोग गर्दैछ । ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ । 

त्यस्तै, ‘ट्रेंगुलेशन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो । 

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । त्यतिबेला चीनले सगरमाथाको उचाइ आठ हजार ८४४ मिटर आसपास निकालेको थियो । तर, त्यसले अन्तरर्राष्ट्रिय मान्यता पाउन सकेन । 

सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाइ आठ हजार ८४० मिटर निर्धारण गरिएको थियो । सन् १९५४ मा एसओआइका बिएल गुलाटीले मापन गर्दा आठ हजार ८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८४४।४३ मिटर उचाइ रहेको जनाएका थिए । 

सन् १९९९ मा बोस्टन म्युजिएम अफ साइन्सका प्रो ब्रड बार्सबनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्नुभयो र त्यसबखत आठ हजार ८५० मिटर रहेको तथ्य अघि सारियो । अहिलेसम्म नेपालले आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ । 

तपाईंको बिचार